झापा । फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र असिनासहितको वर्षाले खेतबारी उजाड बनाएको छ । मुख्य खाद्यान्न र नगदेबालीका रूपमा रहेको मकैदेखि तरकारी, फलफूल र माहुरीपालनसम्ममा यसको असर परेको छ।
जिल्ला कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार कृषि क्षेत्रमा फागुन अन्तिम सातादेखि चैत दोस्रो सातासम्मको अवधिमा मात्रै रु ३ अर्ब १९ करोड २९ लाख ८२ हजार बराबरको क्षति भएको छ। यसबाहेक १ अर्ब ७२ करोड ७३ लाख ७४ हजार ६ सय रुपैयाँ बराबरको बाली पूर्ण रूपमा नष्ट भएको छ ।
झापाका १५ वटै पालिकामा क्षति देखिए पनि सबैभन्दा ठूलो मार मकैबालीले बेहोरेको छ । हावाहुरीसँगै परेको असिनाले बालीनाली थिचिएपछि उत्पादन नै नउठ्ने अवस्थामा पुगेको किसानहरू बताउँछन्।
सबैभन्दा प्रभावित क्षेत्रमध्ये बाह्रदशी गाउँपालिका रहेको छ । यहाँ लगाइएको मकैबालीमध्ये झण्डै ७५ प्रतिशत नष्ट भएको छ । सात वडा रहेको पालिकामा ८४० हेक्टर क्षेत्रफलमा लगाइएको मकैबालीमा क्षति पुगेको प्रमुख विष्टले बताए।
मकैमा मात्रै रु २७ करोड २७ लाखभन्दा बढीको क्षति भएको छ भने आंशिक क्षति रु ७५ करोड ५७ लाख नाघेको छ । वडागत विवरणले क्षतिको गम्भीरता थप स्पष्ट पार्छ । बाह्रदशी–२ र ३ मा ठूलो क्षेत्रफलमा लगाइएको मकै पूर्ण रूपमा नष्ट भएको छ । अन्य वडामा क्षति भएको छ।
बाह्रदशी गाउँपालिका–१ मा ४३९ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकामा २५ हेक्टर क्षेत्रफलमा पूर्ण र ३३ हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको छ । त्यस्तै बाह्रदशी–२ मा ७८० हेक्टर क्षेत्रफलमा मकैखेती लगाइएकामा ५९६ हेक्टरमा पूर्ण र ५७ हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको प्रमुख विष्टले बताए।
बाह्रदशी ३ मा ६९३ हेक्टर क्षेत्रफलमा मकैखेती लगाइएकामा ५१९ हेक्टर क्षेत्रफलमा पूर्ण र ५० आंशिक क्षति भएको छ । बाह्रदी ४ मा ५४७ हेक्टर क्षेत्रफलमा मकै खेती लगाइएकोमा २६९ हेक्टर क्षेत्रफलमा पूर्ण र १३३ हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको छ ।
बाह्रदशी ५ मा ९५७ हेक्टर क्षेत्रफलमा मकैखेती लगाइएकामा १६७ हेक्टर क्षेत्रफलमा पूर्ण र ४०० हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको छ । बाह्रदशी ६ मा ६५३ हेक्टर क्षत्रेफलमा मकै खेती लगाइएकोमा २० हेक्टर पूर्ण र ६७ हेक्टर क्षेत्रफलमा आंशिक क्षति पुगेको प्रमुख विष्टले बताए।
बाह्रदशी–७ मा ५३० हेक्टर क्षेत्रफलमध्ये ३३ मा पूर्ण र १०० हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको छ । मकैपछि तरकारी बालीमा उल्लेख्य असर परेको छ । विभिन्न वडामा साना क्षेत्रफल भए पनि तरकारी बाली नष्ट हुँदा दैनिक आम्दानीमा निर्भर किसान प्रत्यक्ष मारमा परेका छन् । तरकारी बालीतर्फ बाह्रदशी–१ मा १, बाह्रदशी–२ मा २, बाह्रदशी–३ मा ५, बाह्रदशी ४ मा ३, बाह्रदशी ५ मा २ बाह्रदशी ६ मा १ र बाह्रदशी ७ मा २ हेक्टरमा क्षति पुगेको हो । प्रमुख विष्टका अनुसार असिनासहितको वर्षा र हावाहुरीको दोहोरो प्रभावले किसान मारमा परेका छन्।
“फूल लागेको र गोडाइको अवस्थामा रहेका बालीमा असिनाबाट अत्यधिक क्षति भयो”, उनले भने । स्थानीय तहहरूले प्रारम्भिक तथ्याङ्क सङ्कलन गरिरहेका छन् भने राहत तथा पुनःस्थापनाका उपायबारे छलफल थालेको उनको भनाइ छ।






