Khabar Out
विद्युत् प्राधिकरणले सहिद परिवारका थप ८ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले थप आठ सहिद परिवारलाई रोजगार दिने निर्णय गरेको हो ।

जेनजी आन्दोलनका घाइते व्यक्तिलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८२ को बुँदा नम्बर ११ र नेपाल राजपत्र (खण्ड ७५, अतिरिक्ताङ ३२, कात्तिक १७ गते, २०८२ साल) मा भएको व्यवस्थाअनुसार छुट भएका आठ जना सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

प्राधिकरणले यसअघि २७ जना सहिद परिवारका सदस्यलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको छ । आज थप भएका आठ सहिद परिवारमध्ये रोजित श्रेष्ठ (काठमाडौँ), अम्बिका विश्वकर्मा (उदयपुर), सुमित्रा महत (सिन्धुपाल्चोक), शीतल पौडेल (काठमाडौँ), मौसम कुलुङ (सङ्खुवासभा), पार्वती अधिकारी (सर्लाही), हेमन्ती विष्ट (बझाङ) र मञ्जु पौडेल (लमजुङ) छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update