झापा । झापामा चालु आर्थिक वर्ष २०८२/८३ को चैत २४ गतेसम्म जिल्लाका आठ लाख ४२ हजार ३३० नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । यो जिल्लाको कुल जनसङ्ख्याको ८४ दशमलव ३९ प्रतिशत हो ।
नेपाल सरकारद्वारा सामाजिक सुरक्षाअन्तर्गत सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रमप्रति झापाका नागरिकको आकर्षण निरन्तर बढ्दै गएको तथ्याङ्कले देखाएको छ । “राज्यको लगानी, नागरिकको योगदानः स्वास्थ्य बीमा साझा अभियान” मूल नारासहित स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालयले बुधबार मनाइएको दशौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आयोजित कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो ।
सोही अवधिसम्म जिल्लामा बीमित परिवारको सङ्ख्या दुई लाख १७ हजार ५२३ पुगेको छ, जुन जिल्लाभरका कुल परिवार सङ्ख्याको ९८ प्रतिशत हो । स्वास्थ्य बिमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालय संयोजक लक्ष्मी कँडेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा स्वास्थ्य बीमाको पहुँच विस्तार भइसकेको छ । स्थानीय तहगत विवरणअनुसार दमक नगरपालिकामा सबैभन्दा बढी एक लाख २२ हजार ७९७ नागरिक बीमित भएका छन् भने झापा गाउँपालिकामा सबैभन्दा कम १९ हजार ४९ जना बीमामा आबद्ध छन् ।
जिल्लामा हाल २७ स्वास्थ्य सेवा प्रदायक संस्था स्वास्थ्य बीमा कार्यक्रममा सूचीकृत भई सेवा प्रवाह गर्दै आएका छन् । सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यसहित कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको संयोजक कँडेलले जानकारी दिए ।
दिवसका अवसरमा विभिन्न स्थानीय तहमा दर्ता सहयोगीका रूपमा कार्यरत कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यसम्पादन मूल्याङ्कनका आधारमा प्रत्येक स्थानीय तहबाट उत्कृष्ट दर्ता सहयोगीलाई प्रशंसापत्रसहित सम्मान गरिएको संयोजक कँडेलले बताए ।







