काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) का अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी अटोमोबाइल क्षेत्रसँग सम्बन्धित नीतिगत तथा प्रणालीगत सुधारका विषयमा विस्तृत सुझाव पेश गरेको छ ।
भेटका क्रममा नाइमाले स्थिर, पूर्वानुमानयोग्य र सरोकारवालासँगको परामर्शमा आधारित नीतिगत वातावरण आवश्यक रहेको उल्लेख गर्दै अटोमोबाइल क्षेत्रलाई विलासिता नभई आवश्यकता रूपमा मान्यता दिनुपर्नेमा जोड दिएको छ । साथै, समग्र करभार घटाउने, कर संरचनालाई सरल र सन्तुलित बनाउने तथा सवारी साधन खरिदका लागि ८० प्रतिशतसम्म कर्जा र २० प्रतिशत डाउन पेमेन्टको व्यवस्था कायम गरी वित्तीय पहुँच सहज बनाउनुपर्ने माग राखिएको छ ।
नाइमाले भन्सार जाँचपास सम्पन्न भइसकेपछि पनि लेखापरीक्षण तहमा फरक व्याख्याका आधारमा बेरुजु उठ्ने प्रवृत्तिले व्यावसायिक अनिश्चितता सिर्जना गरेको उल्लेख गर्दै स्पष्ट, एकरूप र पारदर्शी प्रणाली आवश्यक रहेको जनाएको छ । त्यसका साथै भन्सार प्रक्रिया सहजीकरण, परीक्षण पूर्वाधार विकास, यातायात ऐनको पुनरावलोकन, डिजिटल प्रणाली एकीकरण, सडक सुरक्षा तथा प्रदूषण नियन्त्रणका विषयमा पनि सुधार आवश्यक रहेको औंल्याएको छ ।
“मेक इन नेपाल” अवधारणाअन्तर्गत एसेम्बलिङ उद्योग प्रवर्द्धन तथा दीर्घकालीन नीतिगत स्थिरता सुनिश्चित गर्नुपर्ने विषय पनि नाइमाले उठाएको छ । विद्युत् सवारी साधनका लागि स्पष्ट, स्थिर र प्रोत्साहनमुखी नीति आवश्यक रहेको र हाइब्रिड सवारी साधनको उचित वर्गीकरण गरी तिनको प्राविधिक विशेषताअनुसार सन्तुलित नीतिगत व्यवस्था गर्नुपर्नेमा पनि जोड दिइएको छ ।
अर्थमन्त्री डा. वाग्लेले नाइमाद्वारा प्रस्तुत सुझावहरू सान्दर्भिक रहेको बताउँदै आयातकर्ता तथा उत्पादकहरूको एकीकृत मुद्दा प्रस्तुत गरेकोमा प्रशंसा गरेका छन् । उनले मन्त्रालय र नाइमाबीच निरन्तर संवाद आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्र अर्थतन्त्रको प्रमुख आधारस्तम्भ भएको बताए। साथै, समग्र कर प्रणालीलाई थप सन्तुलित र व्यावहारिक बनाउने दिशामा काम भइरहेको जानकारी दिए ।
उनले प्रस्तुत सुझावहरूलाई आगामी नीति, कार्यक्रम तथा बजेटमा सम्भव भएसम्म समेट्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
यसै क्रममा नाइमाको प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुदर्शन लामिछानेलाई पनि भेट गरी मोबिलिटी र अटोमोबाइल क्षेत्रका समसामयिक विषयमा छलफल गरेको छ । मन्त्रीले अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूले राष्ट्रिय राजस्व, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै धन्यवाद व्यक्त गरे ।
नाइमा नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको एकीकृत प्रतिनिधित्व गर्ने संस्था हो, जसले नीतिगत सुधार, उद्योग प्रवर्द्धन र दिगो गतिशीलताका क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको छ । यस संस्थामा आबद्ध सदस्यहरूले राष्ट्रिय राजस्वमा उल्लेखनीय योगदान पुर्याउनुका साथै ठूलो मात्रामा रोजगारी सिर्जना गर्दै आधुनिक, सुरक्षित र दिगो यातायात प्रणाली विकासमा योगदान दिँदै आएका छन् ।







