Khabar Out
उद्योगी–व्यवसायीलाई तर्साएर नभएर संवादमार्फत राजस्व बढाउनेतर्फ लाग्नुस् : अर्थमन्त्री वाग्ले

पर्सा । अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्वको लक्ष्यभन्दा धेरै रकम सङ्कलन गर्नेगरी काम गर्नका लागि वीरगञ्ज भन्सारका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । अर्थमन्त्री वाग्लेले शुक्रबार वीरगञ्ज भन्सार कार्यालयको निरीक्षण गर्दै लक्ष्य अनुसारको राजस्व उठाउन पनि दबाब पर्ने भएता पनि संवादमार्फत नै राजस्वको लक्ष्यभन्दा धेरै रकम उठाउन अनुरोध गरे ।

‘‘लक्ष्यअनुसार राजस्व उठाउनको लागि एउटा दबाब पनि पर्ने गर्छ । त्यतिबेला उद्योगी–व्यवसायीहरू मारमा पनि पर्ने गर्छन् । तर, उद्योगी व्यवसायीलाई धरपकड र छापा मार्नेभन्दा पनि फकाई–फकाई वा संवादबाटै राजस्व उठाउनेतर्फ अघि बढ्न निर्देश गर्दछु,” उनले भने, “घुसको लेनदेन हुने गरेका विभिन्न खालका गुनासाहरू पनि रहेका छन् । त्यस्ता गुनासाहरूलाई पनि अन्त्य गर्न जरुरी छ ।”

अर्थमन्त्री वाग्लेले राम्रो काम गर्नेलाई प्रशंसा/पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई हतोत्साहित गर्ने नीतिअनुसार अघिबढ्ने प्रतिबद्धता व्यक्त गरे । “सरकारको माथिल्लो तहबाटै सदाचारको नीति अघि बढ्ने भएकाले पनि तल्लो तहमा पनि सो कायम गर्न जरुरी छ । त्यो कुरा यहाँहरूले पनि पालना गर्नुहोला,” उनले भने, ‘‘बजार अनुगमन त हामीले गर्नुपर्ने हुन्छ । तर, बजार अनुगमनको पनि दुरुप्रयोग हुनेतर्फ पनि सचेत र सहज हुनका लागि अनुरोध गर्दछु ।”

अर्थमन्त्री वाग्लेले उद्योगी–व्यवसायीलाई तर्साएर र धम्काएर नभएर संवादमार्फत राजस्व उठाउने कार्यमा लाग्न अनुरोध गरे । “कडाई गरेर एक वर्ष त राजस्व धेरै उठाउन सकिएला तर, उद्योगी–व्यवसायी गर्न नै हतोत्साहि हुने वातावरण भने बनाउने छैनौँ,” उहाँले भन्नुभयो, “राजस्वको लक्ष्य पूरा गरेको खण्डमा तपाईहरू मेरो नोटिसमा आउनुहुनेछ । सरकारले हामीले जुन विराट लक्ष्य लिएका छौँ । त्यसलाई परिपूर्ति गर्न सकिनेछ ।”

अर्थमन्त्री वाग्लेले बदमासी गर्ने विरुद्धमा राज्य एकदमै निर्मम भएर अघि बढ्ने बताए । रासस

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  २१:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update