काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँका दरले वृद्धि गरेको छ । निगमले चैत २० गते मध्यरातदेखि लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको जनाएको छ ।
नयाँ मूल्य अनुसार तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि यी क्षेत्रमा पेट्रोल १८७ रुपैयाँ थियो । त्यस्तै डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँबाट बढेर १८२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
पहिलो वर्गमा पर्ने चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १८४ रुपैयाँबाट बढेर १९९ रुपैयाँ ५० पैसा कायम गरिएको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य १६४ रुपैयाँ ५० पैसाबाट बढेर १७९ रुपैयाँ ५० पैसा पुगेको छ ।
दोस्रो वर्गअन्तर्गत रहेका सुर्खेत र दाङमा पेट्रोलको मूल्य १८६ रुपैयाँबाट बढेर २०१ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १६६ रुपैयाँबाट वृद्धि भई १८१ रुपैयाँ कायम भएको छ ।
आयल निगमले यो मूल्य समायोजनपछि पनि १५ दिनमा ११ अर्ब ७१ करोड निगमलाई घाटा हुने जनाएको छ ।







