Khabar Out
देशभर मेघगर्जनसहित वर्षाको सम्भावना, पहाडी क्षेत्रमा हिमपात हुन सक्ने

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसको प्रभावले देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ।

विभागका अनुसार सोमबार (चैत्र १६) दिउँसो पहाडी र हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ । देशका विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा मधेससहित कोसी प्रदेशको तराई, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै, रातिको समयमा पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update