काठमाडौँ । देशभर एकै दिन १६ स्थानमा आगजनीका घटना भएका छन् । यस्तै, तीन स्थानमा डढेलो लागेको छ । सुक्खा मौसमका कारण देशभर आगजनीका घटनामा वृद्धि भएकाले सचेतना अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणका अनुसार, चैत १२ गते बिहानदेखि चैत १३ गते बिहानसम्म देशभर २५ विपद्का घटना भएका थिए । विपद्का कारण रु ७४ लाख सात हजार बराबरको धनमालको क्षति भएको छ ।
घटना विवरण अनुसार, उखुको पात सल्काउँदा, खाना पकाउने क्रममा चुल्होबाट हावाले आगो उडाउँदा आगलागी भएका छन् । ग्यास चुहिएर, वा सलाई खेलाउँदा पनि आगलागी भएको छ । सामान्य सावधानी अपनाउँदा समेत रोकथाम गर्न सकिने भए पनि लापरबाहीका कारण आगलागीका घटनामा वृद्धि भएको विवरणहरूमा देखिन्छ ।
प्राधिकरणका अनुसार, ललितपुर, रुपन्देही र सल्यानका विभिन्न जङ्गलमा डढेलो लागेको थियो । यस्तै, बर्दिया, रुकुम पूर्व, दाङ, रुपन्देही, बागलुङ, कास्की, ललितपुर, काभ्रेपलान्चोकका एक एक स्थानमा आगलागीका घटना भएका छन् । रौतहट, मोरङका दुई दुई स्थानमा आगलागीका घटना हुँदा सुनसरी, उदयपुर, सिरहाका एक एक स्थानमा पनि सामान्य सावधानी नअपनाउँदा ठूलो क्षति भएको छ ।
यस्तै, कञ्चनपुरमा सर्पको टोकाइबाट दुई जना घाइते भएका छन् । पदयात्रामा गएका दुई पदयात्रीलाई मुस्ताङमा लेक लागेको छ । पाँचथर, भक्तपुर, नवलपरासी पूर्व र गुल्मीमा भने जनावर आक्रमणका घटना भएका छन् । प्राधिकरणले विपदमा जोगिन पूर्व सावधानी अपनाउन आग्रह गरेको छ ।





