Khabar Out
पेट्रोलियम पदार्थको मूल्य वृद्धि : पेट्रोल–डिजेलमा प्रति लिटर १५ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रति लिटर १५ रुपैयाँले मूल्य बढाएको जानकारी दिएको हो ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएको र सोहीअनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा समायोजन गर्नुपरेको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका कारण निगमलाई ठूलो घाटा व्यहोर्नु परिरहेको पनि जनाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ कायम भएको छ । यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पनि पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ ।

निगमले उपभोक्ताको हितलाई ध्यानमा राख्दै मूल्य स्थिरीकरण कोषसमेत प्रयोग गरिएको जनाएको छ । यद्यपि, अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि जारी रहेकाले थप समायोजनको दबाब रहेको निगमको भनाइ छ ।

साथै, निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गर्दै अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि सोहीअनुसार स्वदेशी मूल्यसमेत घटाइने विश्वास दिलाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  २२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update