काठमाडाैँ । अष्ट्रेलियाली सरकारले सोमबार जल स्रोतको दिगो प्रयोग गर्ने र राष्ट्रिय स्वच्छ ऊर्जा सङ्क्रमणमा योगदान गर्ने डाटा सेन्टरहरूको अनुमोदन प्रक्रिया तीव्र बनाइने घोषणा गरेको छ । उद्योग तथा नवप्रवर्तन मन्त्री तथा विज्ञान मन्त्री टिम एयर्स का अनुसार, नयाँ फ्रेमवर्कले डाटा सेन्टर विकासकर्ताहरूलाई स्पष्ट र स्थिर सङ्केतहरू प्रदान गर्ने भएकाले अष्ट्रेलियामा लगानी गर्न अझ सजिलो र भरोसायोग्य वातावरण सिर्जना हुनेछ । यस पहलले देशभित्रको आधुनिक प्रविधि पूर्वाधार विस्तारलाई प्रोत्साहन गर्दै राष्ट्रिय हितलाई प्राथमिकता दिनेछ ।
एयर्सले जलवायु परिवर्तन तथा ऊर्जामन्त्री क्रिस बोवेन र विज्ञान, प्रविधि तथा डिजिटल अर्थतन्त्रका सहायक मन्त्री एन्ड्र्यू चाल्र्टनसँग डाटा सेन्टरहरूको विकास ‘अष्ट्रेलियाली जनताको आवश्यकता पहिलो प्राथमिकता’ हुनुपर्ने बताए ।
फ्रेमवर्क अनुसार, राष्ट्रिय हितलाई प्राथमिकता दिने, ऊर्जा सङ्क्रमणलाई सहयोग गर्ने, जल स्रोतको दिगो र जिम्मेवार प्रयोग गर्ने, स्थानीय सीप र रोजगारीमा लगानी गर्ने तथा अनुसन्धान र नवप्रवर्तन क्षमता सुदृढ पार्ने परियोजनाहरूलाई योजना तथा अनुमोदन प्रक्रियामा तीव्रता प्रदान गरिनेछ ।
अष्ट्रेलियाली ऊर्जा बजार अपरेटरको सन् २०२५ को अनुमान अनुसार, डाटा सेन्टरहरूले २०३० सम्म ग्रिडबाट आपूर्ति हुने विद्युत् करिब ६ प्रतिशत र २०५० सम्म १२ प्रतिशत खपत गर्नेछन्, जुन २०२४–२५ मा केवल २ प्रतिशत थियो । यस नयाँ फ्रेमवर्क अन्तर्गत, नयाँ डाटा सेन्टरहरूले आफ्ना ऊर्जा आवश्यकताहरू पूर्ति गर्न नयाँ वा अतिरिक्त स्वच्छ ऊर्जा उत्पादन वा भण्डारण सुनिश्चित गर्नुपर्ने, उद्योगमा अग्रीम दक्षता उपायहरू अपनाउनुपर्ने र प्रसारण तथा वितरण पूर्वाधार लागतको आफ्नो हिस्सा बहन गर्नुपर्छ ।
बोवेनले बताएअनुसार, यी कदमहरूले सबै उपभोक्ताका लागि ऊर्जा मूल्य स्थिर र न्यून राख्न सहयोग पुर्याउनेछन्, साथै देशमा आधुनिक डाटा पूर्वाधार र स्वच्छ ऊर्जा संयन्त्रको विकासलाई प्रोत्साहित गर्नेछ । यस पहलले अष्ट्रेलियालाई दिगो प्रविधि लगानी र भविष्यको ऊर्जा सुरक्षामा अग्रणी देशको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । रासस





