Khabar Out
२६ वर्षपछि तरेगना खानेपानी आयोजना सञ्चालन

सिरहा । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले २६ वर्षअघि सुरु गरेको लहान नगरपालिका-१६ स्थित तरेगना खानेपानी आयोजना आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको उक्त आयोजना विश्व पानी दिवसको अवसर पारेर उद्घाटन गरिएको हो।

वि.सं. २०५६ मा दुई लाख २५ हजार लिटर क्षमताको ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिए पनि बोरिङमा पानी नआउँदा आयोजना अलपत्र परेको थियो । गतवर्ष डिभिजन कार्यालयले नेपाल खानेपानी संस्थान लहान शाखालाई बाँकी कामको जिम्मेवारी हस्तान्तरण गरेपछि आयोजनाले गति लिएको हो।

‘वाटर एड’ नेपालको आर्थिक सहयोग तथा दलित जनकल्याण युवा क्लब लहान र खानेपानी संस्थानको संयुक्त साझेदारीमा सञ्चालित ‘विकन परियोजना’ले करिब रु ६० लाखको लागतमा एक वर्षभित्र जीर्ण संरचनाको मर्मत र नयाँ बोरिङ जडान गरी आयोजना सम्पन्न गरेको हो ।

नेपाल खानेपानी संस्थान लहानका प्रमुख राकेश गोइतका अनुसार विगतमा गरिएका दुई वटा बोरिङ असफल भएपछि यसपटक दुई किलोमिटर टाढाबाट पानी ल्याइएको छ । उनले भने, “पहिले ट्याङ्की छेउमा गािडएका डिप बोरिङबाट पानी नआएपछि आयोजना ठप्प भएको थियो । हामीले जिम्मेवारी पाएपछि विकन परियोजनाको सहयोगमा दुई किलोमिटर टाढा नयाँ बोरिङ जडान गरी ट्याङ्कीमा पानी चढाउन सफल भयौँ । अहिले २१ घरधुरीबाट वितरण सुरु गरिएको छ भने छिट्टै लहान-१६ र १७ का पाँच सय परिवारमा पाइपलाइन विस्तार गर्ने लक्ष्य छ ।”

आयोजना सुरु गर्न २६ वर्षअघिदेखि पहल गर्दै आएका लहान-१६ का ७२ वर्षीय वडाध्यक्ष गडुलबहादुर जर्घा मगरले आयोजना सञ्चालन भएपछि यहाँका स्थानीयले स्वच्छ खानेपानी उपभोग गर्न पाउने विश्वास व्यक्त गरे ।

उनले भने, “२०५६ सालमा यहाँका नागरिकलाई स्वच्छ पानी खुवाउने सपना बोकेर सङ्घर्षसहित आयोजना ल्याएको थिएँ । प्राविधिक समस्याले गर्दा झण्डै तीन दशक कुर्नुपर्‍यो । आज आफ्नै कार्यकालमा तरेगनाबासीको घरघरमा पानी पुगेको देख्न पाउँदा गौरव महसुस भएको छ ।”

दलित जनकल्याण युवा क्लबका विकन परियोजना प्रबन्धक राजेशकुमार लोहनीले चुरे क्षेत्रसँग जोडिएको यस भेगमा भूमिगत पानीको स्रोत सुक्दै गएकाले यो आयोजनाले दिगो समाधान दिने विश्वास व्यक्त गरे । उनले भने, “हामीले लहान नगरपालिका र खानेपानी संस्थानसँगको संयुक्त साझेदारीमा सन् २०१८ देखि यहाँको खानेपानी समस्या समाधानका लागि काम गरिरहेका थियौँ । यो आयोजना सम्पन्न हुनु यहाँका दलित र विपन्न समुदायका लागि ठुलो उपलब्धि हो ।”

चुरे फेदीमा रहेको यो क्षेत्रमा पानीको सतह घट्दै जाँदा स्थानीय बासिन्दाले लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका थिए । अब आयोजना पूर्ण क्षमतामा सञ्चालन भएसँगै लहानका दुई वटा वडाका बासिन्दालाई स्वच्छ खानेपानीको पहुँच सहज हुने भएको छ । रासस

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update