काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एलपी ग्यासको अवैध कारोबार भएको जानकारी भए खबर गर्न आग्रह गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर एलपी ग्यासको अवैध कारोबार भइरहेको कुनै सूचना वा जानकारी भए ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन विभागले अनुरोध गरेको छ ।
पछिल्ला दिनमा खाना पकाउने ग्यासमा कालोबजारी बढेको, अत्यधिक मात्रामा लुकाइएको, बढी मूल्य लिएर बिक्री गरेको पाइएपछि विभागले आमउपभोक्तालाई निःशुल्क रूपमा उक्त टेलिफोन नम्बरमा फोन गरी सूचना दिन आग्रह गरेको हो ।
नेपाल आयल निगमले आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्नेगरी आवश्यक व्यवस्था मिलाए पनि बजारमा ग्यासको अभाव कायम छ । विभागले अनुचित व्यापारिक क्रियाकलाप सञ्चालन भएको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
विभागले सञ्चालनमा रहनेगरी निःशुल्क रूपमा टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको र देशभरका जुनसुकै स्थानबाट सम्पर्क गर्न सकिने जनाएको छ ।
पछिल्ला दिनमा विभागले देशभर स्थलगत अनुमगन तथा निरीक्षण गर्दै आएको छ । अनुमगनका क्रममा कैफियत फेला पर्नेबित्तिकै उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको विभागले प्रष्ट पारेको छ ।
ग्यासको माग उच्च रहेको विषम अवस्थामा आपूर्ति प्रणालीमा सहजता ल्याउन, कृत्रिम अभावलगायत गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न विभाग सक्रिय रहेको जनाइएको छ ।
विभागले सबै ग्यास उत्पादक उद्योग र वितरक सबैमा कानुनअनुसार व्यापार व्यवसाय गर्न तथा कुनै पनि गैरकानुनी क्रियाकलाप नगर्न सचेत गराएको छ ।
सोमबार मात्रै विभागले ग्यास लुकाइएको पाइएपछि श्रीराम ग्यास उद्योगलाई तीन लाख जरिबाना गरेको छ । सो उद्योगको ललितपुर हरिसिद्धिमा रहेको गोदाममा लुकाएर राखेको १४.२ किलोग्राम तौलका ६ हजार ३७७ सिलिन्डर फेला परेको विभागले जनाएको छ । रासस





