काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरेको जनाएको छ।
निगमका अनुसार बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।
नयाँ मूल्य अनुसार तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।
त्यस्तै, दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोल प्रतिलिटर १७१ रुपैयाँ तथा डिजेल र मट्टितेल १५१ रुपैयाँ पुगेको छ ।
पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा तथा डिजेल–मट्टितेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ ।
निगमले अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र अमेरिका–इजरायल–इरानबीचको तनावका कारण मूल्य समायोजन गर्नुपरेको जनाएको छ । ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका कारण बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य बढाउनुपरेको हो,’ निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। साथै, मूल्य वृद्धिबाट उपभोक्तामा पर्ने प्रभावप्रति आफूहरू सचेत र संवेदनशील रहेको निगमले जनाएको छ ।





