काठमाडौँ । पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा आइतबारदेखि भने पश्चिम नेपालसम्म वर्षा विस्तार हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको र पूर्वकेन्द्रित भएको वर्षा भोलिदेखि प्रणालीको विकास भई पश्चिममा समेत विस्तार हुनेछ ।
विभागका मौसमविद् रोजन लामिछानेले अबको तीन दिन मुलुकभर मौसम बदली रहेको जानकारी दिए । उनका अनुसार बिहान खुलेजस्तो भए पनि विस्तारै दिउँसोदेखि मौसम बदली बढ्दै वर्षा हुनेछ । भोलिदेखि भने पश्चिममा अर्काे प्रणाली पनि विकास हुने उनले जानकारी दिए ।
उच्च चापीय प्रणाली कमजोर हुने र न्यून चापीय प्रणालीका साथै पश्चिमी न्यून चापीय प्रणालीसमेत जोडिएर बदली गराउने मौसमविद् लामिछानेले जानकारी दिए । यसले हावाहुरी, चट्याङ र असिना पानी गराउने मौसमविद्ले बताएका छन् । कतैकतै भारी वर्षा पनि गराउने छ ।
आज कतैकतै वर्षा भएको छ । विभागमा भएको तथ्याङ्क तथा वर्षा मापनको विवरणअनुसार पछिल्लो २४ घण्टामा सङ्खुवासभामा मात्रै भारी (५२ दशमलव दुई मिलिमिटर) वर्षा भएको छ । अन्य केही जिल्लामा मध्यमसम्म वर्षा र कतैकतै असिना पनि परेको विभागले जनाएको छ ।
विभागले आज साँझ जारी गरेको मौसम बुलेटिनअनुसार आज राति देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्ने, हिमाली भू-भागका थोरै स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले जानकारी दिए ।
आइतबार लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्ने छ । देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।
कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ । रासस





