काठमाडौँ । गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले आन्दोलनका क्रममा उपचार भएका अस्पतालबाट सङ्कलन गरिएको नामअनुसार विवरण सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।
आन्दोलनमा देशभरिका ९९ अस्पतालमा दुई हजार ६३८ जना घाइतेको उपचार गरिएको विवरण प्राप्त भएको उनले बताए । 'आन्दोलनका क्रममा उपचार भएका सबै अस्पतालबाट घाइतेको विवरण सङ्कलन गरिहेका थियौँ । केही अस्पतालबाट विवरण आउन ढिलो भएकाले सबै घाइतेको विवरण सार्वजनिक गर्न ढिलाइ भयो । हाल सबै घाइतेको विवरण गृह मन्त्रालयलाई पठाएको छ,' प्रवक्ता डा. बुढाथोकीले भने ।
विवरणअनुसार गत असोज ३१ गते दुई हजार ५२२, गत माघ ४ गते ७७ र यही फागुन २९ गते थप ३९ जना घाइतेको विवरण गृह मन्त्रालयलाई पठाइएको छ ।
प्रवक्ता डा बुढाथोकीका अनुसार सबैभन्दा धेरै चार सय ५८ जना घाइतेको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उपचार गरिएको छ । यस्तै, नेपाल पुलिस अस्पतालमा दुई सय तीन, राष्ट्रिय ट्रमा सेन्टरमा एक सय ९० र त्रिवि शिक्षण अस्पतालमा एक सय आठ जनाको उपचार भएको थियो ।





