काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडन अन्त्य गर्न समाजका सबै क्षेत्रले सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन् ।
११६औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले परम्पराका नाममा समाजमा रहेका खराब अभ्यासका कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढिरहेको उल्लेख गर्दै यस्ता प्रथा अन्त्यका लागि प्रभावकारी र सिर्जनात्मक कार्यक्रम आवश्यक रहेको बताएका हुन् ।
राष्ट्रपति पौडेलले महिलाहरू सशक्त भएमा परिवार, समाज र राष्ट्रको समृद्धि सम्भव हुने उल्लेख गर्दै जनसंख्याको आधा हिस्सा ओगटेका महिलाको सशक्तीकरणमा विशेष ध्यान दिनुपर्ने बताए ।
संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्तले राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न महत्वपूर्ण योगदान दिएको उनको भनाइ छ । उनले शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण र निर्णय प्रक्रियासहित राज्यका सबै क्षेत्रमा महिलाको समान पहुँच सुनिश्चित गर्न जोड दिए ।
राष्ट्रपति पौडेलले महिला अधिकार, समानता, सशक्तीकरण र सम्मानप्रति सबैलाई संवेदनशील भई काम गर्न अन्तर्राष्ट्रिय महिला दिवसले थप ऊर्जा, उत्साह र प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।





