Khabar Out
बाँकेमा कैदीबन्दीले गरे मतदान

बाँके । प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेमा रहेका दुई कारागारका कैदीबन्दीले आज शतप्रतिशत मतदान गरेका छन् । नेपालगञ्ज कारागारबाट १५७ जना र नौबस्ता कारागारबाट ४६ जना कैदीबन्दीले शतप्रतिशत मतदान गरेको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बताए ।

नेपालगञ्ज कारागार, नौबस्ता कारागार र पशु सेवा कार्यालय परिसरमा पनि अस्थायी मतदान केन्द्र राखिएको थियो । पशु सेवा कार्यालय परिसरमा निजामति कर्मचारी र सुरक्षाकर्मीले समानुपातिकमा मतदान गरेका छन् ।

बाँकेमा ६३ प्रतिशत मतदान

तीन निर्वाचन क्षेत्र रहेको बाँके जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६३ प्रतिशत मतदान भएको छ । साँझ ५ बजेसम्म सबै मतदान केन्द्रको तथ्थ्याङ्क अनुसार बाँके जिल्लामा ६२ देखि ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए ।

“बाँकेका तीन निर्वाचन क्षेत्रका ८१ वटा वडामा बिहान ७ बजे एकैसाथ मतदान सुरु भई शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको छ”,उनले भने, “सबै मतदान केन्द्रको तथ्याङ्क अनुसार अनुमानित ६३ प्रतिशत मत खसेको छ ।”

उनका अनुसार, बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रबाट तीन लाख ५० हजार ३ सय ७१ जना मतदाता छन् । जिल्लाका ८१ वटा वडासँगै कारागारहरुमा पनि मतदान केन्द्र राखिएको छ । यसका साथै ३ वटा अस्थायी मतदान केन्द्र राखिएको छ ।

जिल्लाका एक सय ३९ मतदान स्थलमा चार सय वटा मतदान केन्द्र राखिएको छ । यसपटक सबै मतदान केन्द्रहरु अशक्त, अपाङ्गतामैत्री र जेष्ठ नागरिकमैत्री बनाइएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख शाहीको भनाइ छ । रासस

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  २२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update