तेह्रथुम । तेह्रथुममा शान्तिपूर्ण रुपले मतदान सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा शान्तिपूर्ण रुपले मतदान सम्पन्न भएको तेह्रथुमका मुख्य निर्वाचन अधिकृत दिलकुमार बर्देवाले बताए।
जिल्लाका ५६ वटै मतदानस्थल र ९३ वटा मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो । जिल्ला ३५ हजार ५१० महिला र ३७ हजार ६२७ पुरुष गरी कुल ७३ हजार १३७ मतदाता रहेकामा १९ हजार २ सय ४५ महिला र १९ हजार ९ सय ४८ पुरुष गरी कुल ३९ हजार १ सय ९३ ले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी सुनिता रिमालले बताए । समग्रमा जिल्लामा ५३.५९ प्रतिशत मत खसेको उनको भनाइ छ।
मतगणनाका लागि सदरमुकाम म्याङलुङस्थित शिंहबाहिनी माविमा आवश्यक सबै व्यवस्थापन गरिसकिएको मुख्य निर्वाचन अधिकृत बर्देवाले बताए। आज राति २ बजेसम्ममा सबै मतदान केन्द्रबाट मतपेटिका मतगणनास्थलसम्म आइपुग्ने गरी तयारी गरिएको प्रमुख जिल्ला अधिकारी बन्दना राईको भनाइ छ। रासस





