सोलुखुम्बु । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोलुखुम्बुमा ४८.४३ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र अधिकारीका अनुसार जिल्लाभरका मतदान केन्द्रहरूबाट प्राप्त विवरणअनुसार कुल ८५ हजार ५१५ मतदाता रहेकामा ४१ हजार ४०१ जनाले मतदान गरेका छन्।
हिमाली भेगको चिसो मौसम र दुर्गम भौगोलिक अवस्थाका बाबजुद मतदाताहरू मतदान केन्द्रसम्म पुगेर आफ्नो मताधिकार प्रयोग गर्न उत्साहित देखिएका थिए । जिल्लाका दुर्गम बस्तीहरूमा रहेका मतदान केन्द्रहरूमा पनि मतदाताको उपस्थिति उल्लेख्य रहेको निर्वाचन अधिकारीहरूले बताएका छन्।
सदरमुकाम सल्लेरीसँग सडक सञ्जालबाट टाढा रहेका खुम्बु क्षेत्रबाट हेलिकप्टरमार्फत मतपेटिका सङ्कलन गर्नुपर्ने भएकाले केही मतपेटिकाहरु भोलि मात्रै ढुहानी हुने बताइएको छ।





