बागमती । आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरका दुवै क्षेत्रको मतगणना हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा गरिने भएको छ ।
बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालले दुवै निर्वाचन क्षेत्रको मतगणनास्थल भुटनदेवी माविमा तोकिएको र व्यवस्थापनको सम्पूर्ण कार्य सम्पन्न भएको जानकारी दिए । उनका अनुसार निर्वाचन क्षेत्र नम्बर १ को मतगणना भुटनदेवी माविको उत्तर तर्फको ब्लक (ए) मा र क्षेत्र नम्बर २ को मतगणना विद्यालयको (बी) ब्लकमा गरिनेछ । मतगणनालाई व्यवस्थित र पारदर्शी बनाउनका लागि मतगणनास्थलको सुरक्षा र अन्य व्यवस्थापनको कार्य सम्पन्न भएको छ।
निर्वाचनका लागि मकवानपुरका सबै मतदानस्थलको व्यवस्थापन सकिएको छ । यहाँका आठवटा मतदान केन्द्रको मतपेटिका सङ्कलनका लागि छिमेकी जिल्लाको सडक प्रयोग गर्नुपर्ने भएको छ । मकवानपुरको बकैयाँ गाउँपालिकाका तीनवटा र राक्सिराङ गाउँपालिकाका पाँच वटा केन्द्रको मतपेटिका छिमेकी जिल्ला हुँदै ल्याउनुपर्ने बाध्यता रहेको प्रमुख ढकालले बताए ।
मतपेटिका सङ्कलनका लागि अन्तर जिल्लाको सडक प्रयोग गर्नुपर्ने भएकाले सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राखी सम्बन्धित जिल्लाका सुरक्षा निकायसँग समन्वय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए ।
प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरका १६७ मतदानस्थलमध्ये १९ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी जिल्लाको विभिन्न छ स्थानीय तहमा रहेका १९ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखेको हो । जिल्लाको ६० वटा मतदानस्थललाई संवेदनशील र ८८ वटालाई सामान्य सूचीमा राखिएको उनको भनाइ छ ।
अतिसंवेदनशील सूचीमा रहेका १९ मतदानस्थलमा २६ वटा मतदान केन्द्र छन् । उहाँका अनुसार बकैयाँ गाउँपालिको पाँच वटा, राक्सिराङ गाउँपालिकाका छ वटा, बागमती गाउँपालिकाको पाँच वटा, भीमफेदी गाउँपालिकाको एक, मनहरी गाउँपालिकाको एक र कैलाश गाउँपालिकाको एक गरी १९ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा छन् ।
मकवानपुरमा मतदाता सङ्ख्या बढेपछि यस वर्ष सातवटा मतदान केन्द्र थप गरिएका छन् । दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर १ मा ६२ वटा मतदानस्थल र १७८ मतदान केन्द्र छन् भने क्षेत्र नम्बर २ मा १०५ मतदानस्थल र १९६ मतदान केन्द्र तोकिएका छन् । क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४३५ मतदाता छन् भने क्षेत्र नम्बर २ मा एक लाख ५६ हजार ८९९ मतदाता रहेका प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ । रासस





