रुकुमपूर्व । रुकुमपूर्वका प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको विकासदेखि लिएर अहिलेको परिस्थितिमा देशलाई निकास दिनेसम्मको सङ्कल्प गरेका छन् । देशलाई अप्ठ्यारो परिस्थितिमा पुर्याउने र देशलाई जलाउनेहरू चुनावी मैदानमा दौडिरहँदा नेपाली कम्युनिष्ट पार्टी देशलाई सही दिशा दिने सङ्कल्पका साथ चुनावी मैदानमा रहेको उनको भनाइ छ ।
नेकपाका संयोजक दाहालले रुकुमपूर्वबाट चुनाव लड्दै गर्दा विकासका हिसाबले तुलनात्मक रूपमा पछि परेको यस जिल्लालाई अग्रणी बनाउनका लागि विशेष आर्थिक तथा पूर्वाधार प्याकेज लागू गर्ने सङ्कल्प गरेका छन् । जनयुद्धकालमा जसरी यस जिल्लाको चुनवाङ बैठकले देशलाई शान्तिको मार्ग देखाएको थियो, त्यसरी नै अब रुकुमपूर्वले देशलाई समृद्धिको मार्ग देखाउनुपर्ने उनको भनाइ छ । त्यसै कारण देशलाई समृद्धिको मार्गमा अगाडि बढाउन मुख्य भूमिका खेल्ने यस जिल्लाको विकासका लागि प्याकेज बनाएर काम गर्ने कुरा संयोजक दाहालले चुनावी घोषणापत्रमा उल्लेख गरेका छन् ।
रुकुमपूर्वलाई सुगम बनाएको मध्यपहाडी लोकमार्गको पूर्णता तथा सहिदमार्ग (थवाङ, महत, काँक्री, तक, हुकाम, मैकोट, दुले हुँदै शहरतारा–डोल्पा) सडक सम्पन्न गर्न पहल गर्ने, सङ्घीय सरकार र प्रदेश सरकारबाट टेन्डर आह्वान भएका मोटरेबल पुल, झुलुङ्गे पुललगायत पूर्वाधार योजना निर्धारित समयमै सम्पन्न गर्न पहल गर्ने कुरा घोषणापत्रमा उल्लेख गरिएको छ ।
यस्तै सानीभेरी, उत्तरगङ्गा, ढोरपाटन करिडोर र दुईखोली (रोल्पा), चुनवाङ, रुकुमकोट, सिस्ने, डोल्पा जोड्ने सडकलाई पूर्णता दिने, जिल्लाका तीनवटै पालिका केन्द्रसहित वडा–वडा जोड्ने पक्की सडकमार्फत यातायात क्रान्ति गर्ने बताइएको छ । योजना प्रोजेक्ट बैंकमा रहेका जिल्लाका योजनाको प्राथमिकीकरण र कार्यान्वयनमा जोड दिनुका साथै स्थानीय नदिनालाबाट लघु तथा मेगा जलविद्युत् उत्पादन, प्रत्येक वडासम्म केन्द्रीय प्रसारण लाइन विस्तार, जिल्लामा ग्रिड स्थापना, सिँचाइ पूर्वाधार विस्तार तथा आधुनिक र व्यावसायिक कृषि प्रणाली लागू गर्ने कुरा घोषणापत्रमा उल्लेख गरिएको छ ।
यस्तै पुथा–सिस्ने हिमशृङ्खला, तालतलैया, ढोरपाटन सिकार आरक्ष, मगर सांस्कृतिक बस्ती र जनयुद्धका ऐतिहासिक स्मृतिसहितका सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने, यार्सागुम्बा, पाँचऔँलेलगायत बहुमूल्य जडीबुटीको उत्पादन, संरक्षण, प्रशोधन केन्द्र स्थापना र बजार सुनिश्चित गर्ने योजना रहेको बताइएको छ । जिल्ला अस्पतालमा २४सै घण्टा विशेषज्ञ चिकित्सक, आवश्यक उपकरण र प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्ने, सामुदायिक शिक्षाको गुणस्तर सुधार, थोरै विद्यार्थी धेरै विद्यालयको समस्यालाई समाधान गर्न विद्यालय केन्द्रिकरण, विषयगत शिक्षकको व्यवस्था, आवासीय सुविधा र गुणस्तर अभिवृद्धिका लागि आवश्यक नीति निर्माण तथा कार्यान्वयन गर्ने साथै सङ्घ, प्रदेश र स्थानीय तहबाट सुरु भएका अधुरा र क्रमागत योजनालाई पूर्णता दिने कुरा पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।
जनयुद्धको उद्गमथलोसमेत रहेको रुकुमपूर्वका जनतासँग संयोजक दाहालले यो जिल्ला आफ्नो लागि केवल एउटा निर्वाचन क्षेत्र मात्र नभई राजनीतिक पुनर्जन्मको थलो र परिवर्तनको उद्गमस्थल रहेको बताएका छन् । विस्तृत शान्ति सम्झौताका जीवित हस्ताक्षरकर्ता हुनुको नाताले जनयुद्धका सहिद, बेपत्ता तथा घाइते योद्धाहरूको सम्मान, तिनका परिवारका लागि राहत र परिपूरणका कार्य निष्कर्षमा पुर्याउने तथा द्वन्द्वकालीन मुद्दाको राजनीतिक तथा कानुनी निरूपण गरी शान्तिलाई दिगो बनाउन प्रतिबद्ध रहेको उनले बताएका छन् ।
लुम्बिनी प्रदेशद्वारा घोषित अर्गानिक जिल्ला रुकुमपूर्वका लागि आवश्यक नीति–नियम निर्माण गर्दै प्रमाणीकरण तथा बजार सुनिश्चित गरी यहाँको उत्पादनलाई ‘प्रिमियम ब्रान्ड’का रूपमा सहरका डिपार्टमेन्टल स्टोरसम्म पुर्याउने तथा देशकै गुणस्तरीय टिम्मुरको ब्रान्डिङ, स्याउ, सुन्तला, कागतीलगायत फलफूल, अर्गानिक तरकारी र अन्नबालीको बजारीकरण गर्ने कुरा प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।
मगर समुदायको बाहुल्यता रहेको यस जिल्लामा संविधानको मर्मअनुसार मगर क्लस्टरलाई स्वायत्त क्षेत्र घोषणा गरी ‘खाम मगर’ सभ्यताको विश्वव्यापी ब्रान्डिङ गर्ने प्रयास गर्ने, यहाँको फलाम खानी उत्खनन तथा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरी जिल्लालाई ‘नमुना औद्योगिक जिल्ला’ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । यसबाट प्राप्त रोयल्टीले रुकुमपूर्वलाई नेपालकै धनी जिल्लाको सूचीमा पुर्याउन सकिने दाबी गरिएको छ ।
रगतले लेखिएको संविधानको रक्षा गर्दै सङ्घीयतालाई अझ मजबुत बनाउने र मधेसी, जनजाति, दलित तथा मगर समुदायको स्वायत्तताका लागि आवश्यक संविधान संशोधन प्राथमिकतामा रहने उल्लेख गरिएको छ ।
नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी कुसुमदेवी थापाले रुकुमपूर्व बनाउने १० भिजन तयार पारेर चुनावी प्रचारप्रसार गरिरहेकी छन् । प्रतिबद्धतापत्रमा सडक तथा पूर्वाधार विकास, मिसन रोजगारी, शिक्षा र स्वास्थ्य, कृषि र प्राकृतिक स्रोत, पर्यटन र संस्कृति, खानेपानी र सिँचाइमा काम गर्ने उल्लेख छ ।
यस्तै विद्युतीकरण र दूरसञ्चार, सुशासन, संविधान तथा कानुन निर्माणमा भूमिका र बजेट समन्वयमार्फत रुकुमपूर्वको विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
नेकपा एमालेले पनि जिल्लाको समग्र विकासलाई केन्द्रमा राख्दै सडक यातायात, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ तथा जलस्रोत, सूचना–सञ्चार तथा विद्युतीकरण, उद्यम विकास तथा रोजगारी सिर्जना, कृषि–वन पैदावार तथा पशुपालन, मौलिक कला–संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्द्धन, प्राकृतिक स्रोत व्यवस्थापन, विपद् व्यवस्थापन, युवा तथा खेलकुद, सहरी विकास, सुशासन प्रवर्द्धन, द्वन्द्वकालीन यौनजन्य हिंसा पीडितका सवाल, महिला सशक्तीकरण तथा समानताका लागि विशेष कार्यक्रमलाई चुनावी एजेन्डा बनाएको छ ।
नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले मध्यपहाडी राजमार्ग निर्माण सम्पन्न गर्ने, सहिद मार्गको निर्माण छिटो पूरा गर्ने, देउखोला–कुमा नायगाड–सिस्ने हुँदै डोल्पा सडक सञ्जाल विस्तार गर्ने, देउखोला–जामा–त्रिवेणी–तकसेरा सडक निर्माण गर्ने, चुनवाङ–रुकुमकोट सडक स्तरोन्नति तथा कालोपत्र गर्ने, भुमे र सिस्ने रिङ रोड स्तरोन्नति गर्ने, सेरा–दमचन–ढोरपाटन सडक विस्तारलगायत योजना अघि सारेका छन् ।
शिक्षण पेसालाई मर्यादित बनाउँदै शिक्षकहरूको वृत्तिविकास, भुमे गाउँपालिका लुगुममा बहुप्राविधिक शिक्षालय सञ्चालन, पुथा उत्तरगङ्गा गाउँपालिकामा स्थापना हुने क्याम्पसलाई स्रोतसाधन सम्पन्न बनाउने, सडक दुर्घटना तथा आकस्मिक बिरामीका लागि भुमे गाउँपालिका काक्री स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी ट्रमा सेन्टरका रूपमा विकास गर्ने, ‘एक घर, एक धारा’ अवधारणाअनुसार स्वच्छ खानेपानी सुविधा पुर्याउने, सिँचाइ प्रणाली स्तरोन्नति गर्ने योजना उल्लेख गरिएको छ ।
सूचना–सञ्चार तथा विद्युत्तर्फ जिल्लाका ३१ वटै वडामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्ने, उद्यम विकासतर्फ युवा उद्यमशीलता प्रवर्द्धन गर्दै रोजगारी ग्यारेन्टी गर्ने तथा कृषि उद्यममार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको एमालेले जनाएको छ ।
प्रजातन्त्र लोकतान्त्रिक पार्टी प्रलोपाका उम्मेदवार सन्दिप पुनले पनि दुर्गम क्षेत्रमा सडक पहुँच, जनताको स्वामित्वमा ऊर्जा विकास, कृषि र वनमा प्रकृतिसँग मेल खाने विकास, खानी र उद्योगमा स्रोतको सही उपयोग, उत्पादनमा आधारित युवा नीति अघि सारेका छन् ।
शिक्षामा समान अवसर, सहिद परिवारको जीवनयापन ग्यारेन्टी, ऐतिहासिक युद्धस्थल र स्मारक संरक्षण, सिकार पर्यटन व्यवस्थापन, होमस्टे र स्थानीय गाइडमार्फत पर्यटन आम्दानी सुनिश्चित, युवालाई रोजगारी र युद्ध पर्यटन प्रवर्द्धन गर्ने एजेन्डा पनि घोषणापत्रमा उल्लेख छ ।
फागुन २१ मा हुने निर्वाचनका लागि रुकुमपूर्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । अहिले सबै उम्मेदवार आ–आफ्ना प्रतिबद्धतापत्रसहित मतदाता रिझाउन व्यस्त छन् । रासस





