Khabar Out
आगामी पाँच वर्ष विकास र सुशासनको समय हो: सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष विकास र सुशासनको समय भएको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ र ६ ले आइतबार यहाँ आयोजना गरेको ‘बृहत् चुनावी सभा’लाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसले आगामी पाँच वर्ष विकास र सुशासनमा खर्च गर्न चाहेको बताएका हुन् । “संविधान बनेपछि कानुन बनाउनेभन्दा पनि सरकार बनाउने र टिकाउनेमा समय खेर गयो, आगामी पाँच वर्ष विकास र सुशासनका लागि समय खर्च गर्न चाहन्छौँ,” उनले भने ।

आगामी दिनमा सुशासन कायम गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गरिने उनको भनाइ थियो । सभापति थापाले घरजग्गा कारोबार, शेयर कारोबार, ठुला उद्योग सञ्चालन नहुँदा देशको अर्थतन्त्र चलायमान हुन नसकेको बताए । कांग्रेसले वार्षिक १० लाख आयआर्जन गर्ने व्यक्तिलाई कर छुट दिने नीति लिएको उल्लेख गरे ।

सभापति थापाले उत्तेजना र घृणाको राजनीतिलाई काठमाडौँ उपत्यकाका जनताले विश्वास नगर्ने र आगामी निर्वाचनमा विवेकको प्रयोग गर्ने उनले विश्वास व्यक्त गरे । नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं ५ मा पार्टीका महामन्त्री प्रदीप पौडेल र क्षेत्र नं ६ मा कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँ उम्मेदवार छन् । रासस

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update