Khabar Out
इरानको सर्वोच्च नेता खामेनीको हत्यापछि अन्तरिम नेतृत्वमा तीन नेता

काठमाडाैँ । इरानले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहितका केही अधिकारी र दर्जनौँ उच्च सैन्य अधिकारीको संयुक्त आक्रमणमा मृत्यु भएपछि तेहरानले सङ्क्रमणकालीन योजनाको घोषणा गरेको छ ।

सरकारले राष्ट्रपति, न्यायपालिकाका प्रमुख र ‘गार्जियन काउन्सिल’ का एक न्यायविद्सहित अन्तरिम नेतृत्व परिषद्को गठन गरेको छ । यो अन्तरिम परिषद्ले इरानी कानूनको निरीक्षण र चुनावी उम्मेदवारहरूको जाँच गर्दछ ।

इरानका उच्च सुरक्षा प्रमुख अली लारीजानीले पनि केन्द्रीय भूमिका निर्वाह गरिरहेका छन् । इरानी संस्थापन नेता तथा राष्ट्रपति रहनुभएका ७१ वर्षीय मसुद पेजेश्कियान नयाँ सर्वोच्च नेता निर्वाचित नभएसम्म देशको नेतृत्व गर्ने अन्तरिम परिषदका तीन सदस्यमध्ये एकको भूमिकामा रहनेछन् ।

मुटु सर्जनबाट सुधारवादी राजनीतिज्ञ बनेका उहाँले सन् २०२४ जूनमा आफ्नो पूर्ववर्तीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि पदभार ग्रहण गरेका थिए । पेजेस्कियनको जन्म सन् १९५४ मा टर्की मूलका इरानी पिता र कुर्द आमाबाट पश्चिम अजरबैजानको उत्तरपश्चिमी प्रान्त महाबाद शहरमा भएको थियो।

आफ्नो शान्त व्यवहारका लागि चिनिने प्राविधिज्ञ पेजेस्कियनले अशान्त समयमा सरकारको नेतृत्व गर्नुभएको छ, उहाँको कार्यकालसँगै गत वर्ष इजरायलसँग १२ दिने युद्ध र जनवरीमा बढ्दो जीवन लागतको बारेमा ठूलो विरोध प्रदर्शन भएको छ।

आइतबार उहाँले खामेनीको हत्यालाई ‘मुस्लिमविरुद्धको युद्धको घोषणा’ को संज्ञा दिँदै इरानको प्रतिक्रिया ‘वैधानिक कर्तव्य र अधिकार’ का लागि हुने बताएका थिए । अर्का नेता ६८ वर्षीय शिया धर्मगुरु घोलमहुसेन मोहसेनी इजेईलाई पनि नेतृत्व परिषद्को सदस्य बनाइएको छ।

उनको जन्म मध्य इरानको इस्फाहान प्रान्तको एजेह गाउँमा भएको थियो ।

इस्लामिक गणतन्त्रको न्यायपालिका र सुरक्षा संयन्त्रमा लामो समयदेखि अनुभव रहेका यी व्यक्तित्वलाई खामेनीले सन् २०२१ मा न्यायपालिकाको प्रमुख नियुक्त गरेका थिए । न्यायपालिकाको वेबसाइटका अनुसार इजेईले शिया धर्मको पवित्र शहर कोमबाट इस्लामिक अध्ययन पूरा गर्नुभएको छ र अन्तर्राष्ट्रिय कानूनमा स्नातकोत्तर गरेका छन्।

उनले होजातोलेस्लामको लिपिकीय पद पनि पाउनुभएको छ । यो पद अयातोल्लाहभन्दा एक पद तल मानिन्छ । सन् २००९ मा तत्कालीन राष्ट्रपति महमुद अहमदिनेजादले गुप्तचर मन्त्रीको रूपमा काम गरिरहेका बेला भएको प्रदर्शनमा भएको दमनको कारण उनलाई ‘गम्भीर मानवअधिकार उल्लङ्घन’ गरेको आरोपमा अमेरिकी प्रतिबन्धमा राखिएको थियो।

खामेनीको हत्यापछि उनले भने, “अमेरिकाको दुष्ट शासन र अपमानित र निन्दक सियोनलाई थाहा हुनुपर्छ कि महान राष्ट्र इरानले आफ्नो वीर नेताको हत्यारालाई कहिल्यै माफ गर्नेछैन ।”

अन्तरिम नेतृत्व परिषदमा रहेका तेस्रो अधिकारी ६५ वर्षीय धर्मगुरु अलिरेजा अराफी इरानको शिया मदमिनहरूको व्यवस्थापन केन्द्रका प्रमुख हुन् । उनी ‘एसेम्ब्ली अफ एक्सपर्ट’हरूको दोस्रो उपाध्यक्षको रूपमा काम गर्नुहुन्छ र यो सर्वोच्च नेताको नियुक्ति र निरीक्षण गर्ने निकाय हो । उहाँ गार्जियन काउन्सिलका सदस्य पनि हुन्।

अराफी सन् १९७१ मा इस्लामिक विज्ञानको अध्ययन गर्न पवित्र शहर कोममा सर्नुभएको थियो । उहाँको आधिकारिक वेबसाइटका अनुसार शाह मोहम्मद रेजा पहलवीको विरोध गरेको आरोपमा १६ वर्षको उमेरमा जेल सजाय सुनाइएको थियो।

तीन काउन्सिल सदस्यहरू मध्ये सबैभन्दा कान्छो र कम चिनिने उनले सामान्यतया शान्त तथा सावधानीपूर्वक आफ्ना धारणालाई नागरिक र विश्व समुदायबिच पुर्‍याउने गरेका छन्। तथापि, आइतबार उनले एक विद्रोही टिप्पणी राख्दै भने, “राष्ट्र क्रान्तिको बाटोमा अघि बढ्नेछ । मानिसहरूको, प्रिय युवाहरू र प्रिय विद्यार्थीहरूको रगतको बदला लिनेछु।”

वर्तमान् सरकारको नेतृत्वमा रहनुभएका ६८ वर्षीय अली लारीजानी हाल इरानको सर्वोच्च सुरक्षा निकाय, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख हुन्।

इस्लामिक गणतन्त्रको सेना, मिडिया र विधायिकामा लामो सेवापछि उनले खामेनीको विश्वास प्राप्त गरेको विश्वास गरिन्छ।

उनको जन्म सन् १९५७ मा इराकको नजाफमा एक प्रमुख शिया धर्मगुरुको घरमा भएको थियो जो इस्लामिक गणतन्त्रका संस्थापक अयातोल्लाह रुहोल्लाह दिवंगत खोमेनीका निकट मानिन्छन्।

उहाँको परिवार दशकौँदेखि इरानको राजनीतिक प्रणालीमा प्रभावशाली रहँदै आएको छ ।

आइतबार लारीजानीले खामेनीपछि इरानको सङ्क्रमणकालीन योजनाको रूपरेखा प्रस्तुत गरेका थिए र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जस्तै भाषा प्रयोग गर्दै इजरायल र अमेरिकामाथि ‘उनीहरूले पहिले कहिल्यै अनुभव नगरेको शक्ति’ ले आक्रमण गर्ने बाचा गरेका थिए । रासस

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  २२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update