Khabar Out
ओखलढुङ्गालाई 'उद्यमशील र आत्मनिर्भर' वनाउने गुरुयोजनासहित कुमार लुइटेल चुनावी मैदानमा

ओखलढुङ्गा । आगामी निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कुमार लुइटेलले 'उद्यमशील र आत्मनिर्भर ओखलढुङ्गा' को संकल्पसहित आफ्नो चुनावी कार्ययोजना सार्वजनिक गरेका छन । ३५ वर्षको लामो राजनीतिक अनुभव र स्पष्ट दृष्टिकोण बोकेर मैदानमा उत्रिएका लुइटेलले जिल्लाको भूगोल, इतिहास र भावनालाई समेट्दै ओखलढुङ्गावासीको जीवनस्तर सुधार्ने वाचा उम्मेदवार लुइटेलले गरेका छन ।

लुइटेलको गुरुयोजनामा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ, जसमा घुर्मी–चतरा, दूधकोशी, मोलुङ र लिखु कोरिडोरसहित जिल्लाका सबै वडा जोड्ने सडकहरूको स्तरोन्नति र मुख्य सडकहरूलाई कालोपत्रे गर्ने लक्ष्य राखिएको छ । यसका साथै रुम्जाटार विमानस्थललाई नियमित सञ्चालनमा ल्याउने र जिल्लाका बाँकी दुर्गम बस्तीहरूमा केन्द्रीय प्रसारण लाइन विस्तार गरी पूर्ण विद्युतीकरण गर्ने उनको योजना छ ।

आर्थिक समृद्धिकालागि 'एक कोरिडोर, एक उत्पादन' को अवधारणा अघि सारेका लुइटेलले दूधकोशी, लिखु र मोलुङ कोरिडोरमा व्यावसायिक कृषि उत्पादन वृद्धि गर्ने, जडीबुटी खेतीमार्फत स्थानीय रोजगारी सिर्जना गर्ने र युवाहरूकालागि सिड फण्ड (Seed Fund) को स्थापना गरी नयाँ उद्यम (Start-up) सुरु गर्न प्रोत्साहन गर्ने प्रतिबद्धता गरेका छन ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तनका लागि हरेक पालिकामा एक नमुना आवासीय विद्यालय, सबै सामुदायिक विद्यालयमा कम्प्युटर र एआई साक्षरता अनिवार्य गर्ने तथा जिल्लाका सबै स्वास्थ्य संस्थामा इन्टरनेट पुर्याई टेलि मेडिसिनमार्फत विशेषज्ञ सेवा उपलब्ध गराउने योजना पनि रहेको लुइटेलले बताए छन । पर्यटन प्रवर्द्धनका लागि किराँत पदमार्ग, मुन्धुम पदमार्गको संयोजन र दूधकोशी जलाशयमा आधुनिक नौका विहार (Boating) सञ्चालन गर्ने उनको लक्ष्य रहेको छ ।

जनप्रतिनिधिका रूपमा जनतासँग प्रत्यक्ष जोडिनका लागि लुइटेलले जनतासँग सांसद टेलिफोन संवाद कार्यक्रम सञ्चालन गर्ने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै पारदर्शी प्रशासनमार्फत सेवा प्रवाह गर्ने प्रतिबद्धता गरेका छन । मेरो संकल्प केवल चुनाव जित्नु मात्र होइन, ओखलढुङ्गाको स्वाभिमान उच्च बनाउनु र प्रत्येक ओखलढुङ्गावासीको मुहारमा खुसी ल्याउनु हो, युवा नेता लुइटेलले बताए ।

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update