मुस्ताङ । माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको छ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै यहाँ राजनीतिक दल र तिनका उम्मेदवारको प्रचार–प्रसार अभियान पनि उत्कर्षमा छ ।
जतिबेला निर्वाचनको माहोल बन्न सुरु भएको थियो, त्यसबेला अर्थात् अघिल्लो महिना माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री पुगेको थियो । हाल चुनावी माहोल उत्कर्षमा छ र फागुनदेखि भने यहाँको मौसमी तापक्रम घट्दैछ । हाल माथिल्लो मुस्ताङको तापक्रम माइनस १० डिग्रीमा झरेको छ । तल्लो मुस्ताङको तापक्रम पनि माइसन ३ डिग्रीमा छ । यद्यपि, मौसम चिसो र प्रतिकूल बने पनि निर्वाचन प्रचार–प्रसार तीव्र रूपमा भइरहेको छ । तल्लो मुस्ताङको घाँसादेखि नेपाल–चीन सिमानाका कोरलासम्मै निर्वाचनको माहोल तातिएको छ ।
जिल्लामा उम्मेदवारी दर्ता गराएका आठ राजनीतिक दलमध्ये छ दल र तिनका उम्मेदवारले निर्वाचनको माहोल तताएका छन् । नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र उज्यालो नेपाल पार्टीले प्रचार–प्रसार अभियानलाई तीव्रता दिइरहेका छन् । मङ्गोल नेपाल अर्गनाइजेसन र आम जनता पार्टी र तिनका उम्मेदवारको प्रचार–प्रसार अभियान पनि चलिरहेकै छ ।
निर्वाचनको मिति नजिकिँदै गर्दासमेत जाडो छल्न बेँसी झरेका अधिकांश मतदाता जिल्ला फर्किएका छैनन् । केही मतदाता भने हिमालतर्फ उक्लिन थालेका छन् । मतदातालाई फर्काउन उम्मेदवार र पार्टीले पनि विभिन्न तवरले पहल गरिरहेका छन् ।
यहाँ उम्मेदवारले पूर्वाधार निर्माण, कृषि, पर्यटन, शिक्षालगायत मुस्ताङ जिल्लाको समग्र विकास योजनालाई प्राथमिकतामा राखेर निर्वाचनका कार्यक्रम अघि बढाइरहेका छन् । नेपाल–चीन उत्तरी कोरलानाकाको भन्सार अध्यागमन तथा एकीकृत सुरक्षा पोस्टलगायतका भौतिक पूर्वाधार, निर्माण, कोरलानाका हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवरको पर्यटन मार्ग तथा पर्यटन विकास, माथिल्लो मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्रको खारेजी, कृषि क्षेत्रमा आधुनिकीकरण तथा खेर गइरहेका जग्गाहरुको समुचित व्यवस्थापन, गुणस्तरीय शिक्षा तथा ब्याचलर सम्मको सबै विषयमा शैक्षिक सुविधा, सडक, पुल, मुस्ताङ—डोल्पा सडकको पूर्णता र मुस्ताङ—मनाङ सडकमार्ग, जलवायु सङ्कटको न्यूनीकरण, सुविधा सम्पन्न स्वास्थ्य पूर्वाधार तथा जनशक्ति व्यवस्थापनलगायतका प्रतिबद्धता लिएर दल तथा उम्मेदवार जनतासमक्ष पुगिरहेका छन् ।
यसैगरी, जिल्लामा अलपत्र विकास योजनालाई अघि बढाउने, युवा उद्यमशीलताको विकास गर्ने तथा मुस्ताङको समग्र पर्यटन विकासको सम्भावनाको खोजी गर्दै पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिनेलगायत विषय घोषणा गरिएका छन् । मतदाता रिझाउन उम्मेदवारले भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिलाउन पहल गर्ने तथा मुस्ताङमा २०३० सालमा नापी हुन छुटेका जग्गालाई पुनः नाप नक्सा गराउन पहल गर्नेलगायत प्रतिबद्धता जनाइरहेका छन् ।
विसं २०७९ को निर्वाचनसम्म एमाले र कांग्रेसको एकल प्रतिस्पर्धा हुने यस जिल्लामा यस पटक मुख्य गरी चार राजनीतिक पार्टीको प्रतिस्पर्धा हुने आकलन गरिएको छ । हाल नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्य प्रतिस्पर्धामा छन् । त्यसो त मतदातालाई आफ्नो पक्षमा पार्न उज्यालो नेपाल र राप्रपाले निर्वाचनमा मुख्य प्रतिस्पर्धी पार्टीलाई चुनौती दिने आकलन गरिएको छ ।
जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र दलहरू पनि आफ्ना उम्मेदवार लिएर घरघर गइरहेको बताए । निर्वाचनका लागि कर्मचारीहरूको व्यवस्थापन तथा कार्य विभाजन, मतदान केन्द्रमा खटिने कर्मचारीहरूलाई तालिम दिनेलगायत काम सकिएको उनले बताए ।
निर्वाचनका लागि जिल्लामा एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट ५०१ र सशस्त्र प्रहरीबाट निर्वाचन प्रहरीसहित २०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् । यसैगरी, नेपाली सेनाले माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङमा निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरी गस्ती बढाइरहेको छ । रासस





