Khabar Out
सुनसरीमा २० महिला उम्मेदवार चुनावी मैदानमा

सुनसरी । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी जिल्लाबाट स्वतन्त्रसहित २० जना महिला उम्मेदवार चुनावी मैदानमा छन् ।

सबै उम्मेदवार घरदैलो अभियानसँगै मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै मतका लागि आफ्ना विषय प्रस्तुत गर्न व्यस्त छन् । स्थानीय आवश्यकता पहिचान गर्दै विकासका योजना अघि बढाउने प्रतिबद्धता महिला उम्मेदवारहरू गरिरहेका छन् ।

चार निर्वाचन क्षेत्र रहेको सुनसरीमा राजनीतिक दलका ११ र स्वतन्त्रतर्फका ९ जना महिला प्रत्याशी छन् । मुख्य निर्वाचन अधिकृत प्रकाश राउतका अनुसार सुनसरीमा राजनीतिक दल र स्वतन्त्र गरी ११० उम्मेदवारमध्ये २० जना महिला रहेका छन् । निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोमा तामाङ र स्वतन्त्रबाट जीवनकला राईले उम्मेदवारी दिएका छन् । 

निर्वाचन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टीबाट रामकुमारी चौधरी, नेपाल मजदुर किसान पार्टीबाट गीतामाया बजिको, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ताजिना विष्ट, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट तुलसा लिम्बु तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट कृष्णकुमारी दनुवारलगायतले उम्मेदवारी दिएका छन्। स्वतन्त्रतर्फ अञ्जनादेवी गुप्ता र रोसनी राई उम्मेदवार छन् । 

त्यसैगरी, निर्वाचन क्षेत्र नं ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट भगवती चौधरी र नेपाल मजदुर किसान पार्टीबाट प्रकृति बासीले उम्मेदवारी दिएका छन्। स्वतन्त्रतर्फ कासनी थरुनी, कुमारी उराव र सुमनकुमारी चौधरी उम्मेदवार छन् । 

निर्वाचन क्षेत्र नं ४ मा जनता समाजवादी पार्टी नेपालबाट सबिता यादव र नेपाल मजदुर किसान पार्टीबाट चञ्चला न्हिसुतुले उम्मेदवारी दिएकी छन् छ भने स्वतन्त्रतर्फ पार्वती मुखिया, फुलकुमारी खान र यमुना केसी उम्मेदवार रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

सुनसरीमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा महिला मतदाताहरू महिलामैत्री नीति तथा कार्यक्रम अघि सार्न सक्ने उम्मेदवारको खोजीमा छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, महिला हिंसा नियन्त्रण तथा आर्थिक सशक्तीकरणका विषयलाई प्राथमिकतामा राख्ने उम्मेदवारप्रति मतदाता आकर्षित देखिएको छन् ।

निर्वाचन कार्यालयका अनुसार जिल्लामा मतदानका लागि आवश्यक तयारी तीव्र गतिमा भइरहेको छ । समानुपातिक तथा प्रत्यक्षतर्फका सबै मतपत्र आइसकेका छन् । जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतदान केन्द्र निर्धारण, कर्मचारी परिचालन भएकाृ छ ।

पूर्वमन्त्री भगवती चौधरीले निर्वाचन क्षेत्र नं ३ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट उम्मेदवारी दिएकी छन् । २०७० को निर्वाचनमा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादारलाई पराजित गरी चौधरी विजयी भएकी थिइन् । यस पटक पनि उनीहरू नै मैदानमा छन् । 

त्यसैगरी, निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट गोमा तामाङले उम्मेदवारी दिएका छन् । 

धरान उपमहानगरपालिका–१५ की मतदाता निर्मला राईले महिलाका समस्या बुझ्ने महिला आफूहरुलाई आवश्यक भएको बताउँछन् । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार चार निर्वाचन क्षेत्र रहेको सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता कायम छन् । जिल्लाका १२ स्थानीय तहमा दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र दुई जना तेस्रो लिङ्गी मतदाता छन् । जिल्लामा १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र निर्धारण भएका छन् । रासस

 

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update