Khabar Out
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

रसुवा । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउने कार्यमा सहयोग गर्न सञ्चारकर्मीसँग आग्रह गरेको छ । निर्वाचनका सन्दर्भमा विहीबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले निर्वाचन लोकतन्त्रको महत्वपूर्ण अभ्यास भएकाले यसलाई स्वच्छ, पारदर्शी र विवादरहित बनाउन सञ्चारकर्मीको भूमिका अत्यन्त महत्वपूर्ण रहने बताए ।

उनले पत्रकारिता क्षेत्रलाई समाजको ‘चौथो अङ्ग’का रूपमा उल्लेख गर्दै निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना देखिए, सुने वा थाहा पाए तुरुन्त जिल्ला प्रशासन कार्यालय वा तोकिएका अनुगमन अधिकृतलाई जानकारी गराई सहयोग गर्न अनुरोध गरे । अनुगमन अधिकृतमा प्रमुख कोष नियन्त्रक सन्ध्या कार्की र सहायक प्रजिअ द्रुवप्रसाद अधिकारी रहेका छन्।

प्रजिअ पन्थीका अनुसार निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धानलगायत सुरक्षा निकाय परिचालन भइसकेका छन् ।

साथै निर्वाचनका लागि भर्ना गरिएका अस्थायी निर्वाचन प्रहरीलाई आवश्यक सुरक्षा तथा कानुनी प्रशिक्षण प्रदान गरी नियमित सुरक्षा संयन्त्रसँगको निर्देशन एवं समन्वयमा काम गर्न खटाइसकिएको जानकारी दिँदै प्रजिअ पन्थीले जिल्लाको सुरक्षा व्यवस्था मजबुत बनाइएको दाबी गरे। उनले भने,“मतदाता सबैले निर्धक्क र निडर भएर मतदान गर्नसक्ने वातावरण सुनिश्चित गरिएको छ ।”

उनले दैनिक रूपमा गस्ती तथा पेट्रोलिङ कार्य भइरहेको र संवेदनशील क्षेत्रको विशेष निगरानी बढाइएको पनि जानकारी दिए। निर्वाचनको समयमा सरकारी स्रोतसाधन दुरुपयोग हुन नदिन प्रशासन सचेत रहेको उल्लेख गर्दै उनले सुरक्षा कार्यबाहेक अन्य प्रयोजनका लागि कुनै पनि सरकारी सवारीसाधन प्रयोग गर्न नपाइने स्पष्ट पारे।

यदि यस्ता सवारी निजी काममा प्रयोग भइरहेको भेटिएमा तत्काल प्रशासनलाई सूचना दिन उहाँले पत्रकार तथा सर्वसाधारणलाई अनुरोध गरे ।

निर्वाचन आचारसंहिताविपरीत कुनै पनि जनप्रतिनिधिले आफू निर्वाचित भएको पालिका क्षेत्रभित्र कुनै दल वा स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचारप्रसार गर्न नपाउने प्रावधान रहेको उल्लेख गर्दै प्रजिअ पन्थीले त्यस्ता गतिविधि रोक्न सञ्चारमाध्यमको निगरानी अपरिहार्य हुने बताउँदै निष्पक्ष सूचना प्रवाह र सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरे ।

यस्तै, यही फागुन ३ गतेदेखि १७ गतेसम्म जिल्लाभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने कार्यतालिका तयार भइसकेको जानकारी दिँदै उक्त अभियान सफल बनाउन सञ्चारकर्मीको सक्रिय सहभागिता आवश्यक रहेकाे बताए । 

मतदाता शिक्षा कार्यक्रममार्फत मतदान प्रक्रियामा मतपत्रको प्रयोग, मतदान केन्द्रमा आचारसंहितालगायत विषयमा जनचेतना दिइनेछ ।

कार्यक्रममा निर्वाचनमा खटाइने कर्मचारीको नामावली पनि तयार भइसकेको जनाइएको छ । प्रजिअ पन्थीले ट्रेड युनियनमा आबद्ध कर्मचारीलाई निर्वाचन कार्यमा नखटाइने नीति स्पष्ट पार्दै प्रशासनले तटस्थता र निष्पक्षता कायम राख्न विशेष सावधानी अपनाइरहेको बताए । रासस

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update