चितवन । भरतपुर महानगरपालिका–१५ मा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार टुरेचोकबाट शीतलचोकतर्फ आइरहेका मिनीट्रकले रामपुरबाट भरतपुरतर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्याङ्जाका २६ वर्षीय सुरज थापाको मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार स्याङ्जाको हरिनास गाउँपालिका–४ की २२ वर्षीया निरुता थापा गम्भीर घाइते भएकी छिन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनापछि फरार भएका ट्रक चालकको खोजी जारी छ ।
आजै गीतानगरमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
गीतानगरबाट भरतपुरतर्फ आइरहेको अटोरिक्सालाई स्कारपियोले ठक्कर दिएको हो । रासस





