Khabar Out
सवारी दुर्घटनामा परी उपप्रमुख दरैसहित चार घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी–२ दुलेगौँडामा आज भएको त्रिपक्षीय सवारी दुर्घटनामा व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैसहित चार जना घाइते भएका छन्। 

दुलेगौँडाबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०६४ प ०७८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग१ज ४६६७ नम्बरको ट्याक्सी एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो। मोटरसाइकलसँग ठोकिएको ट्याक्सी अनियन्त्रित भई पोखराबाट दुलेगौँडातर्फ आउँदै गरेको ध१ज ६२४ नम्बरको सामान बोक्ने भ्यानमा ठोक्किन पुगेको थियो।

दुर्घटनामा परी ट्याक्सीमा सवार उपप्रमुख दरै र उनका २७ वर्षीय छोरा हेमन्त दरै घाइते भएका छन्। त्यस्तै ट्याक्सी चालक कास्की पोखराका ३८ वर्षीय सन्देश गोले र मोटरसाइकल चालक १८ वर्षीय समेशकुमार थापा पनि घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये ट्याक्सी चालक गोलेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा र उपप्रमुख दरैसहित अन्य तीन जनाको पोखरास्थित आविष्कार अस्पतालमा उपचार भइरहेको छ।

तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार घाइतेहरूको अवस्था र घटनाको थप विवरण संकलन गर्ने काम भइरहेको छ। राजमार्गमा सवारी साधनहरू एकापसमा ठोक्किएपछि केही बेर यातायातसमेत प्रभावित भएको थियो।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  २२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update