तनहुँ । यहाँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडक खण्डमा आज एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी घर भई सोही नगरपालिकाको वडा नम्बर ५ बेलचौतारा बस्ने २६ वर्षीय संसार भुजेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडकबाट अन्दाजी ४०/५० मिटर तल रुपाकुना खोलाको खोँचमा मोटरसाइकलसहित खसेको अवस्थामा निजलाई मृत भेटिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । मृतकको शव परीक्षणका लागि प्रदेश अस्पताल दमौली ल्याइएको छ ।
बिहीबार दिउँसो भिमादमा जारी भलिबल प्रतियोगिता हेर्न जान्छु भनेर घरबाट निस्किएका भुजेल आजसम्म घर नफर्किएपछि परिवारले इलाका प्रहरी कार्यालय बेलचौतारामा निवेदन दिएको थियो । इलाका प्रहरी कार्यालय खोजतलासका क्रममा निजलाई आज साँझ ६ बजे मृत अवस्थामा फेला पारेको जनाएको छ ।



