धनुषा । जनकपुरधामका दुई छुट्टाछुट्टै स्थानमा टिपरले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् ।
आज जनकपुरधामको शुभचोकमा ना८ख ८२५७ नम्बरको टिपरले ज७प २८३७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा धनुषाको क्षिलेश्वनाथ नगरपालिका रमदैयाभवाडीका ७५ वर्षीय राजकिशोर यादवको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रुगमबहादुर कुँवरका अनुसार तीव्र गतिका कारण उक्त दुर्घटना भएको हो ।
त्यस्तै, जनकपुरधामकै रामानन्द चोकमा प्रदेश २–००३१ क ०७७५ नम्बरको टिपरले साइकललाई ठक्कर दिँदा मिथिला बिहारी नगरपालिका–७ की ३० वर्षीया नितु साह गम्भीर घाइते भएकी छन्। उनको जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी प्रवक्ता गणेशबहादुर बमले जानकारी दिएका छन्। जनकपुरधाम उपमहानगरपालिकाभित्र ठूला र भारी सवारीसाधनको अव्यवस्थित सञ्चालनका कारण पछिल्लो समय दुर्घटनाको जोखिम निकै बढ्दै गएको छ ।
बजार क्षेत्रमा समय र रुट निर्धारण नगरी टिपर, ट्रक र बस जस्ता सवारीसाधन चल्दा सर्वसाधारणको जनजीवन असुरक्षित बनेको छ। दुर्घटनापछि आक्रोशित स्थानीयले टिपरमा तोडफोड गर्नुका साथै आगजनीको प्रयास समेत गरेका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिई मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाएको छ भने दुवै घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । रासस





