गण्डकी । सिर्जनशील कलाकार समूह, पोखराको आयोजना र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको सहकार्यमा पोखरामा ‘आर्ट इन हिमालय’ शीर्षकमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी हुने भएको छ ।
यही पुस २४ गतेदेखि २६ गतेसम्म पोखरा महानगरपालिका–९ नयाँ बजारस्थित पोखरा आर्ट ग्यालरीमा हुने उक्त प्रदर्शनीमा नेपालसहित सात देशका करिब ४० कलाकारका कलाकृति प्रदर्शन गरिने भएको हो । प्रतिष्ठानका प्राज्ञ सदस्य राधी कँडेलले नेपाली कला र कलाकारलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने र कलामार्फत संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताए ।
उनका अनुसार प्रदर्शनीमा नेपाल, अमेरिका, अष्ट्रेलिया, बेलायत, डेनमार्क क्यानडा र आयरल्याण्डका कलाकारका कलाकृति प्रदर्शनीमा राखिने भएको छ । “प्रदर्शनीसँगै कलाकृतिलाई बिक्रीमा पनि राखिनेछ, विदेशी कलाकारले नेपाली कलाकृतिलाई महँगो मूल्य तिरेर खरिद गर्न सक्छन्”, उनले भने, “प्रदर्शनीमा कास्कीसहित गण्डकी प्रदेशका अन्य जिल्लाका कलाकारका कलाकृतिलाई पनि समेट्ने प्रयास गर्दैछौँ ।” प्रतिष्ठानले कला प्रवर्द्धनका कार्यक्रममा जोड दिँदै आएको प्राज्ञ सदस्य कँडेलले बताए ।
प्रतिष्ठानको प्राविधिक सहयोगमा यही पुस पहिलो साता पर्वतको कुश्मामा पनि ‘एक दिवसीय कला कार्यशाला’ आयोजना गरिएको थियो । कुश्मा कला परियोजनाद्वारा आयोजित उक्त कार्यशालामा पर्वत, बागलुङसहित धवलागिरि क्षेत्रका कलाकार सहभागी बनेका थिए ।
प्राज्ञ सदस्य कँडेलले राजधानी र ठुला सहरमा मात्र हुँदै आएका ललितकलासम्बन्धी कार्यक्रमलाई विकेन्द्रित गर्ने प्रयास गरिएको बताए । व्यावसायिक रूपमा पनि चित्रकला सफल विधा भएकाले नयाँ पुस्तालाई ललितकला अध्ययनमा प्रेरित गर्नुपर्ने उनको भनाइ छ ।
गत वर्ष पनि अमेरिकालगायतका देशका कलाकारले पोखरामा भएको कला प्रदर्शनीमा भाग लिएको सिर्जनशील कलाकार समूहका अध्यक्ष डिबी गुरूङले बताए । “यो प्रदर्शनी नेपाली कलाकार र उनीहरूका कलाकृतिलाई विश्वस्तरका कलाकारमाझ पुर्याउने माध्यम बन्नेछ”, उनले भने, “कलाकृतिलाई बिक्रीमा पनि राखिने भएकाले नेपाली कलाकारलाई आर्थिक रूपमा पनि लाभ पुग्नेछ ।” रासस



