सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ का हेमराज परियार शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति हुन् । उनलाई ह्विलचियरमा हिँडडुल गराउनुपर्छ । बाह्र वर्षीया परियार सानैदेखि पढाइमा रुचि राख्छन् । उनको आमाले उनलाई विद्यालयसम्म छोड्छिन् । तर विद्यालयमा अपाङ्गतामैत्री शौचालय नहुँदा उनलाई समस्या थियो ।
“स्कुलमा चर्पी धेरै टाढा थियो, ह्विलचियर लिन मिल्ने खालको पनि थिएन । हेमराजका आमा कौशिला परियारले भनिन्”, “छोरो स्कुल गएर पढ्न रहर गर्ने, उसलाई ह्विलचियरमै हिँडडुल गराउनुपर्ने हुन्छ, तर विद्यालयमा अपाङ्गतामैत्री शौचालय नहुँदा समस्या भयो । अनि हामीले विद्यालय पठाउन छोड्यौँ । केही समयपछि विद्यालयमा अपाङ्गतामैत्री शौचालय बनेपछि अहिले सहज भएको छ, फेरि विद्यालय पढ्न पठाउछौँ ।”
हेमराज अहिले कक्षा ४ मा पढ्छन् । परिलक्षित संस्थाले रु सात लाख लागतमा अपाङ्गतामैत्री शौचालय बनाइदिएपछि हेमराजजस्तै शारीरिक अपाङ्गता भएका विद्यार्थीका लागि शौचालय जान सहज भएको छ ।
अहिले उक्त विद्यालयमा २४३ जना विद्यार्थी अध्ययन गरिरहेका छन् भने १६ जना अपाङ्गता भएका बालबालिका रहेको प्रधानाध्यापक हर्कबहादुर बुढा बताउछन् । “हाम्रो विद्यालय २०५३ सालमा स्थापना भएको हो । हामीले अपाङ्गता भएका बालबालिकाको लागि छुट्टै स्रोत कक्षा पनि सञ्चालनमा ल्यायौँ । आवासीय रुपमा बहिरा बालबालिकालाई पनि पढाइरहेका छौँ, तर विद्यालयमा अपाङ्गतामैत्री शौचालय र शुद्ध खानेपानीको समस्या भइरहेको थियो, धेरै ठाउँमा पहल गरेपनि सुनुवाइ भएको थिएन । परिलक्षित संस्थाले अहिले अपाङ्गतामैत्री शौचालय निर्माण र शुद्ध खानेपानी व्यवस्था गरिदिएपछि धेरै सहज भएको छ, उनले भने ।”
संस्थाले अपाङ्गता भएका बालबालिकाको लागि पोषणयुक्त खाना, कपडाको लागि पनि सहयोग गरेको भन्दै प्रधानाध्यापक बुढाले सरकारले दिने रकमले मात्रै अपुग भइरहेको अवस्थामा संस्थाले गरेको सहयोगले अहिले सहज भएको बताए।
परिलक्षित संस्थाले २०२२ सेप्टेम्बरदेखि पोषणयुक्त खाजा एवं विभिन्न शैक्षिक सहयोग दिन थालेपछि स्रोत कक्षा सञ्चालन गरिरहेका सुर्खेतका विद्यालयमा सहज भएको छ ।
फेल्म नेपालको सहयोगमा परिलक्षित संस्थाले सञ्चालन गरिरहेको शैक्षिक परियोजना कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयमा अध्यनरत अपाङ्गता भएका विद्यार्थीलाई केन्द्रित गरेर शैक्षिक सहयोग गर्ने गरेको छ ।
शिखर मावि रामघाट सुर्खेत, जनसेवा मावि घुर्सालगायतका विद्यालयमा विद्यालयले प्रस्ताव गरेअनुसारको अपाङ्गता भएका विद्यार्थीको लागि विभिन्न शैक्षिक सहयोगदेखि अन्य अपाङ्गतामैत्री भौतिक संरचना निर्माणमा सहयोग गरिरहेको परियोजनाका फिल्ड अधिकृत राजु लामिछानेले जानकारी दिए। उनले भने, “स्थानीय सरकारहरुसँग मिलेर अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका छौँ, विशेषगरी अपाङ्गता भएका बालबालिकाको पढाइ नरोकियोस्, भनेर हामीले विभिन्न स्रोत कक्षा सञ्चालन गरिरहेका विद्यालय तथा विपन्न घरपरिवारका अपाङ्गता भएका बालबालिकालाई सहयोग गर्ने गरेका छौँ ।” रासस



