Khabar Out
त्यो दिन सम्झन चाहँदैनन् तिलागुफावासी

कालीकोट  । तिलागुफा नगरपालिका वडा नम्बर ४ का स्थानीयवासी अहिले त्यो दिन अर्थात् वि.सं. २०७९ असोज १८ देखि २३ गतेका हर क्षण सम्झन त परै जाओस् सुन्न पनि चाहदैनन् ।

उनीहरुका लागि करिब एक हप्ता त्रासदिपूर्ण र अतिकष्टपूर्ण रह्यो । ती समयका हरक्षण यति कष्टपूर्ण बने कि उनीहरु शब्दमा व्यक्त गर्न चाहँदैनन् । ती दिन उनीहरुका लागि ‘कालोदिन’ मा परिणत भएकाे छ । 

असोज १८ गतेदेखि नै छमछम वर्षा दर्किंदै थियो । विस्तारै वर्षा बढ्दो गयो । सुक्खा पहाडबाट पहिराे झर्न थाल्यो । पहिराेले कर्णाली राजमार्गअन्तर्गत १८ किमि सडक क्षणभरमा क्षत्‌विक्षत बनायो । पहिरामा मानवीय क्षतिसमेत हुन थाल्यो ।

यही क्रममा अकालमा ज्यान गुमाएका यहाँका हेमराज शाहीको असोज २३ मा दाहसंस्कार हुँदै थियो । अकस्मात् खोलामा आएको बाढीले संस्कारमा सहभागी भइराखेका ११ जनालाई बगाएर तिला नदीमा समाहित गरिदियो । ती ११ जना सबै नै ‘शाही’ थिए ।

तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले भने, “त्यो विपद् मेरा लागि अग्निपरीक्षा सावित भयो । विपद्को सामना गर्नुको अर्काे विकल्प थिएन । विपद्‌मा सहयोग गर्न राष्ट्रिय आह्वान गरेँ । पहिलो नम्बरमा नेपाल रेडक्रसलाई सम्झे । तत्काल ओत, खाना व्यवस्थापनतिर लागे । रेडक्रसले उसको सामर्थ्यले भ्याएसम्म सहयोग गर्‍याे । ऊ नै पहिलो सहयोगी बन्यो । मानवीय सेवाका लागि यहाँ उसले गरेको काम नगरवासीले कहिल्यै भुल्न सक्दैनन् ।”

कर्णाली राजमार्गसँगै जोडिएका यो नगरपालिकामा ११ वडा छन् । ती वडाहरु यति दुर्गम छन् कि सबै वडाका बस्तीमा पुग्न पैदल ४२ दिन लाग्छ । वडा नम्बर ९, १० र ११ तिला नदी पारि छन् ।

वि‍.सं. २०७९ असोजको बाढीले तिला नदीको पक्की पुल बगाइँदिँदा ती वडामा यातायात सेवा स्थायी रुपमा सञ्चालन गर्न अहिले पनि नगरपालिकालाई धौ–धौ नै परिरहेको छ ।

नगरपालिकाका सबै वडा विभिन्न किसिमका विपद् र स्वास्थ्यको दृष्टिकोणले जोखिममा छन् । ती जोखिमलाई घटाई समुदायलाई उत्थानशील बनाउन लक्जम्बर्ग रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रसले नगरपालिकासँगको सहकार्य र समन्वयमा खानेपानी र सरसफाइ, स–साना सिँचाइ, स्वास्थ्य, जीविकोपार्जन, शिक्षाका विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ ।

यी गतिविधिबाट बाढी पीडितलाई मल्हम त लगाएकै छ । अगामी दिनमा यस्ता अकल्पनीय घटना नदोरियोस् भन्नाका लागि पूर्व सचेतनाका कार्यक्रम पनि साथसाथमा सञ्चालन गरिरहेको छ ।

हालसम्म गाल्जे खानेपानी आयोजना, दलित टोल बदमवाडा खानेपानी आयोजना, देवार्ताेली खानेपानी आयोजना, देउरुख खानेपानी आयोजना सम्पन्न भई समुदायलाई हस्तान्तरणसमेत गरिसकिइएका छन् ।

ती आयोजनाबाट अतिविपन्न समुदायका करिब एक हजार परिवार लाभान्वित भएका छन् । नेपाल रेडक्रस सोसाइटीका निर्देशक मोना अर्यालले विपद् प्रतिकार्यका क्षेत्रमा नेपाल रेडक्रसले निरन्तर सहयोग जारी राख्ने जानकारी दिए ।

सामग्री हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कालीकोट शाखाले तिलागुफा नगरपालिकाद्वारा सञ्चालित आपत्कालीन कार्य सञ्चालन केन्द्रका लागि खोज तथा उद्धार र प्राथमिक उपचार सामग्री हस्तान्तरण गरेको छ ।

लक्जम्बर्ग रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ सञ्जालित एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रमअन्तर्गत वासिङ मेसिन, इलेक्ट्रिक हिटर, बिरामी कुरुवाका लागि कुर्सी, पानी प्रशोधन उपकरण, स्ट्रेचर, अग्नि सामक यन्त्र र प्राथमिक उपचार सामग्री रहेका छन् ।

हस्तान्तरित प्राथमिक उपचार सामग्री नगरका विभिन्न ११ विद्यालयमा उपयोग गरिनेछ भने ‘वासिङमेसिन’, इलेक्ट्रिक हिटर, बिरामी कुरुवाका लागि कुर्सी, पानी प्रशोधन उपकरण राजुली नगर अस्पतालमा उपयोग गरिनेछ ।

तिलागुफा नगर प्रमुख शङ्करप्रसाद उपाध्यायलाई नेपाल रेडक्रस सोसाइटी कालीकोट शाखाका कोषाध्यक्ष कुलमान शाही र एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रमका जिल्ला संयोजक रवि लामिछानेले ती सामग्री हस्तान्तरण गरेका हुन् । कर्णाली राजमार्गसँगै जोडिएको यो नगरपालिका विपद् जोखिमका दृष्टिकोणले जोखिम क्षेत्र मानिन्छ ।

सो अवसरमा नगरप्रमुख उपाध्यायले नेपाल रेडक्रस मेरो विपद्को साथी बनेको टिप्पणी गरे । उनले भने, “लक्जम्बर्ग रेडक्रसलाई म विशेष अभाव व्यक्त गर्न चाहन्छु । उसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ नगरपालिकासँगको साझेदारीमा यहाँ सञ्जालित एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम केबल परियोजना मात्र रहेन विपद्पछिको आशा बनिरहेको छ । समुदायलाई उत्थानशील बनाउने कार्यक्रमका ध्येयबाट यहाँका असङ्ख्य विपन्न परिवार लाभान्वित भएका छन्।”

एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रमका जिल्ला संयोजक लामिछाने खानेपानी र सरसफाइ, स्वच्छता स्वास्थ्य जीविकोपार्जन, संस्थागत क्षमता विकास, शैक्षिक गुणस्तर वृद्धिका क्षेत्रमा परियोजनाले नगरपालिकासँगको सहकार्यमा काम गरिराखेको बताए । रासस

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update