काठमाडौँ । चौधौँ काठमाडौँ महानगरपालिका (कामपा) महिला सामुदायिक स्वास्थ्य स्वयंसेवका दिवसका अवसरमा १३ जना अवकाशप्राप्त स्वास्थ्य स्वयंसेविकालाई बिदाइ तथा सम्मान गरिएको छ ।
काठमाडौँ महानगरपालिका, स्वास्थ्य विभागद्वारा शुक्रबार आयोजित कार्यक्रममा अनिवार्य अवकाश भएका स्वयंसेविकाहरूलाई सम्मानसहित जनही दुई लाख रुपैयाँ प्रदान गरिएको छ । त्यसैगरी, दुई जनालाई मरणोपरान्त सम्मान पनि गरिएको छ । साथै ३२ वटै वडाबाट उत्कृष्ट स्वयंसेविकाहरूलाई जनही पाँच हजार रुपैयाँसहित सम्मान गरिएको छ । हाल कामपामा चार सय ५३ जना स्वास्थ्य स्वयंसेविकाहरूले काम गरिरहेका छन् ।
सो अवसरमा महानगरका उपप्रमुख सुनिता डंगोलले स्वास्थ्य स्वयंसेविकाको सेवा र सुविधा थप्ने विषयमा क्रमिक रूपमा काम गरिरहेको बताइन् । उनले स्वास्थ्य स्वयंसेविका नेपालको स्वास्थ्य प्रणाली सुधारमा स्वास्थ्य स्वयंसेविकाहरूले पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उहाँहरूलाई छिट्टै नै स्वास्थ्य बीमामा पनि आबद्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् ।
नेपाल स्वास्थ्यसेवी संघको केन्द्रीय अध्यक्ष गीता थिङले स्वास्थ्य स्वयंसेविकाहरूको सेवा सुविधामा समयअनुसार बढोत्तरी हुनुपर्नेमा जोड दिइन् । रासस



