Khabar Out
हुम्लामा निःशुल्क आँखा शिविर: अपाङ्गता र ज्येष्ठ नागरिकलाई फाइदा

हुम्ला । हुम्ला सदरमुकाम सिमकोटमा सञ्चालित निःशुल्क आँखा शिविरमा ६१२ जना सेवाग्राही लाभान्वित भएका छन्। तीमध्ये ६९ जनाको मोतीबिन्दुको निःशुल्क शल्याक्रिया पनि गरिएको छ । 

नेपाल नेत्रज्योति सङ्घ हुम्ला शाखा, नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित हिमालय आँखा अस्पताल पोखराद्वारा रेडी आई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालित सो तीन दिने शिविरमा निःशुल्क आँखा परीक्षण, औषधि वितरण, मोतीबिन्दु शल्यक्रिया र चस्मा वितरण सेवा दिइएको बताइएको छ । 

जिल्लाका नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकालाई लक्ष्य गर्दै आयोजना गरिएको सो शिविरमा हिमालय आँखा अस्पताल पोखरामा सेवारत नेत्ररोग विशेषज्ञ डा अनिल पराजुलीको नेतृत्वको स्वास्थ्य टोलीले सेवा दिएका थिए।

नेत्ररोग विशेषज्ञ डा पराजुलीले मोतीबिन्दु रोग पत्ता लागेका सबै सेवाग्राहीको निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिए। शिविरमा बालबालिका, ज्येष्ठ नागरिक तथा आँखाका समस्या भएका सेवाग्राही लाभान्वित भएका छन्। न्यून दृष्टि भएका बालबालिका तथा फरक क्षमता भएका सेवाग्राहीका लागि आवश्यकताअनुसार थप उपचार तथा चस्मा वितरणको व्यवस्था गरिएको उनले बताए । रासस

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update