Khabar Out
आन्तरिक तथा भारतीय पर्यटकको चहलपहलसँगै पदयात्रा गर्नेको भीड

नेपालगञ्ज । बाँकेमा विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा पदयात्रा गर्न पाउँदा पर्यटक खुसी हुन थालेका छन् । जिल्लाका प्रसिद्ध पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक तथा भारतीय पर्यटकको चहलपहलसँगै पदयात्रा गर्नेको भीड लाग्न थालेको पर्यटन व्यवसायीले जनाएका छन् ।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा रहेको बाबा बर्फानी मन्दिर, गाईलेक, सन्तानेश्वर महादेवको मन्दिर,नरैनापुर गाउँपालिकमा रहेको गोवद्र्धन धाम र डुडुवा गाउँपालिकामा रहेको कम्मर शाह मन्दिर पदयात्राका लागि सबैभन्दा उत्तम मानिएको छ । यसमध्ये पनि प्रकृतिसँगै रमाउदै पदयात्रा गर्न राप्तीसोनारीको बाबा बर्फानी र सन्तानेश्वर महादेवको मन्दिर र नरैनापुरको गोवद्र्धन धाम अझ बढी आर्कषक रहेको नेपाल एसोसिएसन अफ टूर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), बाँकेका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले बताए । 

उनले यस बाहेक बाँके राष्ट्रिय निकुञ्जमा साइकिलिङ, हाइकिङ, जङ्गल वाक र जङ्गल सफारी गरेर यात्रालाई रोमाञ्चक बनाउन सकिने उल्लेख गरे । 

तराईको पहाड मानिएको महाभारत चुरे पहाडमा रहेको बाबा बर्फानीको मन्दिर पुगेर आएकी पुष्पा ज्ञवाली खनालले प्राकृतिक सुन्दरताले आफूलाई लोभ्याएको उल्लेख गर्दै आन्नद महसुस भएको बताइन् । 

उनले बाबा बर्फानी जाने बाटो आवतजावत गर्नका लागि भौतिक पूर्वाधारको विकास आवश्यक भएको भन्दै पदयात्रा रोमाञ्चक भएको अनुभव सुनाइन् । गुल्मेली समाज, बाँकेका अध्यक्ष हरिलाल न्यौपानेले प्रकृतिसँगको सामिप्यताले मनमा फरक प्रकारको शान्ति मिल्ने उल्लेख गर्दै बाबा बर्फानी पदयात्राको उकालो ओरालो यात्राले शरीरमा थेरापीको कामसमेत गरेको बताए । 

पत्रकार विनय दीक्षितले सन्तानेश्वर महादेवको मन्दिर नरैनापुर गाउँपालिका–५ को मटेहिया चोकदेखि करिब १५ किलोमिटर उत्तरमा रहेको जानकारी दिँदै मन्दिर पुगेपछि शान्तिको अनुभूति हुने बताए । उनले प्रकृतिको दृश्यावलोकनले रोमाञ्चक बनाउने उल्लेख गर्दै पदयात्राका लागि महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताए।

नेपालगञ्जदेखि करिब ३८ किलोमिटर पूर्व नरैनापुर पुगेर नरैनापुरको वडा ४ जयारामपुरुवाबाट उत्तर ५ किलोमिटर अगाडि जङ्गलको बीचमा गोवद्र्धनधामको मन्दिर छ । नरैनापुरसम्म चारपाङ्ग्रे सवारीसाधन र नरैनापुरबाट मोटरसाइकलको प्रयोग गरी सो स्थलमा पुग्न सकिने बताइएको छ ।

गोवद्र्धनधाम क्षेत्रको पूर्वमा धार्मिक पर्यटकीयस्थल बर्फानी बाबाको आश्रम र पश्चिममा प्रसिद्ध सन्तानेश्वर मन्दिर छ । नरैनापुर क्षेत्रको पहाडी भूभाग र राप्ती नदी किनारक्षेत्रमा विभिन्न मठमन्दिर छन् । यस बाहेक पनि बाँकेमा धेरै पर्यटकीय क्षेत्र छन् जहाँ छोटो समय बिताएर पनि पर्यटकले सन्तुष्टी प्राप्त गर्न सक्छन् । रासस

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update