गोरखा । गोरखामा सात हजार ७८५ मतदाता थपिएका छन् । पछिल्लोपटक तोकिएको मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन शुक्रबारसम्ममा उक्त मतदाता थपिएका हुन् ।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्नेगरी समय निर्धारण गरेपछि गत असोज दोस्रो सातादेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरेको थियो । मतदाता नामावली दर्ताका लागि सुरुमा कात्तिक मसान्तसम्म र पछि मङ्सिर ५ गते शुक्रबारसम्म पाँच दिन म्याद थप गरिएको थियो ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीका अनुसार निर्वाचन कार्यालयबाट नामावली दर्ता गराउनेको सङख्या एक हजार ५५० रहेको छ । जसमा ९०८ पुरुष र ५९४ महिला रहेका छन् । यस्तै, ६ हजार २३५ जनाले राष्ट्रिय परिचय पत्रमार्फत नामावली दर्ता गराए ।
पछिल्लो मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न योग्य मतदाताको विवरण छुटाउनलाई भने केही समय लाग्ने सूचना अधिकारी सुवेदीले बताए । उनका अनुसार विगतको तुलनामा यसपटक मतदाता नामावली दर्ता गराउन युवा पुस्ताको उत्साह देखिएको थियो । जिल्लामा मतदाताको सङ्ख्या दुई लाख २९ हजार ७६६ पुगेको उनले बताए ।
गोरखामा यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई लाख २१ हजार ९८१ मतदाताले मतदान गरेका थिए । रासस



