इन्डोनेसिया । इन्डोनेसियाको मध्ये जाभा प्रान्तको आवासीय क्षेत्रमा पहिरो जाँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
विपद् न्यूनीकरण एजेन्सी बिएनपिबीका अनुसार पाण्डनारुम जिल्लाको पाण्डानारुम गाउँमा भारी वर्षापछि आएको पहिरोका कारण हताहत भएको हो।
हाल सम्म सातवटा शव बरामद गरिएको उल्लेख गर्दै मृतकको सङ्ख्या १० पुगेको बिएनपिबीका प्रवक्ता अब्दुल मुहारीले जानकारी दिए ।
लामो समयसम्म परेको वर्षा, पाहाडहरूमा अवस्थित दरारहरूले माटोको तहहरूलाई कमजोर बनाएको विपत्तिको आएको बताउँदै मुहारीले चुनौतिपूर्ण अवस्थामा खोजी र उद्धार कार्य जारी रहेको जानकारी दिए।
स्थानीय अधिकारीहरूका अनुसार पहिरोका कारण ४८ वटा घरहरू क्षतिग्रस्त हुदाँ १९५ जना प्रभावित भएका छन् भने पछिल्लो बिएनपिबी अपडेट अनुसार ९३४ बासिन्दाहरूलाई सुरक्षित अस्थायी आश्रयमा सारिएको छ।
राष्ट्रिय खोजी तथा उद्धार एजेन्सी बसरनास, सेना, प्रहरी, स्थानीय विपद् व्यवस्थापन एकाइ र स्वयंसेवकहरूसहित विभिन्न निकायका ७०० भन्दा बढी कर्मचारीहरू यस क्षेत्रमा तैनाथ गरिएको छ।
खोजी प्रयासहरूलाई तिन क्षेत्रहरूमा विभाजन गरिएको छ भने पानीले भरिएका क्षेत्रहरू सफा गर्न भारी मेसिनरी, खोजी र उद्धार कुकुर एकाइहरू तथा उपकरणहरू प्रयोग गरिएको जनाइएको छ । रासस



