झापा । जिल्लाकाे बुद्धशान्ति गाउँपालिकाले कृषि उपजको भण्डारणका लागि २० टन क्षमताको शीतभण्डार निर्माण प्रक्रिया अघि बढाएको छ । बुद्धशान्ति–४ को टिमाइस्थित सब्जीमण्डीमा रु २२ लाख लागतमा शीतभण्डार बनाउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले बताए ।
बुद्धशान्तिमा व्यावसायिक रूपमा तरकारी उत्पादन गर्ने किसानको सङ्ख्या बढी भएकाले शीतभण्डार निर्माणको तयारी थालिएको उनको भनाइ छ । शीतभण्डारका लागि पालिकाले बजेट सुनिश्चित गरेर स्थानको छनोट गरिसकेको अध्यक्ष प्रसाईंले जानकारी दिए ।
‘शीतभण्डार निर्माण भएपछि किसानले उत्पादन गरेका कृषिजन्य सामग्री भण्डारण गरेर उचित मूल्यमा बेच्न सक्नेछन्’, उनले भने, ‘धेरै पहिलेदेखि किसानले माग गरेकामा अब पूरा हुने भएको छ ।’
यहाँको शीतभण्डारबाट छिमेकी रोङ गाउँपालिका र मेचीनगर नगरपालिकाका किसानहरू पनि लाभान्वित हुनेछन् । शीत भण्डारसहितको आधुनिक कृषिमण्डी निर्माणमा रु ६२ लाख खर्च लाग्ने भएको अध्यक्ष प्रसाईंले जनाउँदै जसका लागि कोशी प्रदेश सरकारले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत लागत साझेदारी गर्ने उल्लेख गरे ।
चालु आर्थिक वर्षमा उक्त शीतभण्डार निर्माणका लागि प्रदेश र पालिकाले आवश्यक बजेट विनियोजन गरिसकेका छन् । बुद्धशान्ति–४ मा शीतभण्डार र वडा नं ३ मा कृषिमण्डी निर्माण गरिने छ ।
स्थानीय किसान बाबुलाल राजवंशीले शीतभण्डार निर्माण हुन लागेकामा खुसी व्यक्त गर्दै यहाँ उत्पादित तरकारी तत्कालै बिक्री नभएमा कम मूल्यमा बेच्नुपर्ने बाध्यता अन्त्य हुने जनाइएको छ । रासस




