Khabar Out
क्यानडाका नेपाली समुदायले शतबीज छरेर बाला चतुर्दशी मनाए

काठमाडौँ । क्यानडामा रहेका नेपाली समुदायले पितृको स्मरणमा शतबीज छरेर बाला चतुर्दशी पर्व मनाएका छन् । क्यानडा अन्टारियोस्थित इस्ट गाराफ्य्राक्समा आयोजित मेलामा नेपाली समुदाय सहभागी भएर शतबीज छरेका हुन् । 

मेलाको आयोजना नेप्लिज क्यानेडियन हेरिटेज सेन्टरले गरेको थियो । नेपाली संस्कृतिको संरक्षण र दिवङ्गत पितृको सम्झना गर्न कार्यक्रम आयोजना गरिएको सेन्टरका अध्यक्ष लीला भण्डारीले जानकारी दिए ।

हेरिटेज सेन्टरकै अगुवाइमा ब्रामटनमा सन् २०१६ देखि पशुपति मन्दिर सञ्चालनमा ल्याएको छ । ठुलो पशुपति मन्दिर तथा बौद्ध स्तूप निर्माणका लागि सेन्टरले १० एकड जमिनसमेत खरिद गरेको छ । 

बालाचतुर्दशी मेला पनि मन्दिर निर्माणका लागि खरिद भएको नेपाली समुदायको उक्त जमिनमा आयोजना गरिएको अध्यक्ष भण्डारीले बताए । मेला मन्दिरका पुजारीले शिवश्तोत्र, गणेश स्तुति वाचन र दीप प्रज्वलन गर्दै सुरुवात गरेका थिए ।

पितृ उद्धारका लागि गरिएको मेला तथा अन्य विभिन्न पर्वका अवसरमा गरिने सांस्कृतिक गतिविधिले परदेशमा पनि नेपालीपन झल्किरहने एनआरएन क्यानडाका अध्यक्ष जगन सापकोटाले बताए । नेपाली समुदायका लागि गरिने साना ठूला कार्यक्रममा सकेको योगदान गर्नुपर्ने भन्दै उनले नेपालीबिच भाइचाराको भावना बढाउँदै संस्कृति संरक्षणमा सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए । रासस

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update