Khabar Out
टेम्केमैयुङका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका दुई सय ३८ परिवारको पिउने पानी समस्या समाधान भएको छ । कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजले निर्माण गरेको अन्नपूर्ण–वाख्राङ–बाहुनगाउँ खानेपानी आयोजनाले यहाँको वर्षौँदेखिको समस्याको अन्त्य भएको हो ।

छ वटा मुहानको पानी सङ्कलन गरेर बस्तीभरिका घरघरमा पुर्‍याइएको छ । आयोजनामा २६ हजार ९५ मिटर पाइप लाइन, १५ वटा सङ्कलन ट्याङ्की र नौ वटा वितरण ट्याङ्की निर्माण गरिएको जनाइएको छ । खानेपानी आयोजना सम्पन्न भएर घरघरमा पानी आउन थालेपछि दैनिक जीवन सहज बनेको स्थानीय राजबहादुर राईले बताए ।

आयोजनामा मूल्य अभिवृद्धि करसहित कुल रु दुई करोड १२ लाख एक हजार २१२ लागत लागेको वडाध्यक्ष पूर्णप्रसाद राईले जानकारी दिए। आयोजनामा रु ५२ लाख ६३ हजार बराबरको श्रमदान पनि गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले योजना सम्पन्न भएपछि यहाँका बासिन्दाको पुरानो समस्या अन्त्य भएको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकामा धेरै आवश्यकता भए पनि आन्तरिक स्रोत सीमित हुँदा सबै योजनालाई एकैपटक सम्बोधन गर्न कठिनाइ हुँदै आएको छ ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि तथा सडक पूर्वाधारमा प्राथमिकता निर्धारण गरेर योजनाबद्ध रूपमा काम भइरहेको बताउनुभयो । भौगोलिक विकटताका कारण कतिपय ठाउँमा काम गर्न चुनौती रहेको अध्यक्ष बस्नेतले जानकारी दिए । रासस

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update