Khabar Out
‘मौरिस हर्जोग’ पदमार्गका अस्थायी पुलमा आलोपालो आवतजावत गर्नुपर्ने बाध्यता

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गमा व्यवस्थित झोलुङ्गे पुल नहुँदा आवत जावतमा समस्या भएको छ ।  

नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास भएको उक्त पदमार्गको नारच्याङ–हुमखोला खण्डको कच्ची सडक र हुमखोला-आधार शिविर खण्डमा रहेका अस्थायी पुल (साँघु र फड्के) हरुको स्तरोन्नति गर्नुपर्ने भएको छ । पदयात्रीहरूको चाप बढेपछि अस्थायी पुलमा आलोपालो गरेर हिँड्नुपर्ने अवस्था आएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताए ।

स्थानीय सिप र प्रविधिको प्रयोग गरेर निर्माण भएको अस्थायी पुललाई पर्यटकको चापसँगै स्तरोन्नति गर्नुपर्ने भएको उनले बताए । पुलमा काठको फल्याक बिछ्याइएको छ । लट्ठाहरू हल्लिँदा वारपार गर्न जोखिम भएको हो । भारी बोकेर पुल तर्न गार्हाे हुने गरेको छ । पुलको दायाँबायाँ जाली पनि छैन । कतिपय ठाउँमा काठका साँघुबाट खोला तर्नुपर्छ ।  

हुमखोला, फुतफुते झरना, रेडवाटर फल, सुनखोला र पञ्चकुण्डमा रहेका काठे पुल परिवर्तन र स्तरोन्नति गर्नुपर्ने देखिएको हो । पञ्चकुण्ड तालको छेउबाट आधार शिविर जाने बाटोमा खोलामाथि राखिएको काठमा हिउँ जम्ने र चिप्लने समस्या छ । 

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा पदमार्गको प्रवेश बिन्दुमा पर्ने हुमखोलामा ६० मिटर लामो झोलुङ्गे पुल निर्माणको तयारी गरेको जनाएको छ । गाउँपालिकाका सव इञ्जिनियर बालकृष्ण पौडेलले सामग्रीहरू खरिद भइसकेको पुल निर्माण गर्न उपभोक्ता समिति गठन र सम्झौतापछि काम अघि बढाउने बताए ।

फुतफुते झरनामा झोलुङ्गे पुल बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । पृष्ठभूमिमा झरनाहरू अवलोकन गर्दै तस्बिर, भिडियो खिच्ने ठाउँ समेत रहने गरेर पुल बनाउन डिजाइन गरिएको उनले बताए ।

अन्य ठाउँमा पुल बनाउनका लागि प्रदेश तथा सङ्घीय सरकारसँग पहल गरेको गाउँपालिकाले जनाएको छ । हालै मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविरको भ्रमण गरेर आएका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले झोलुङ्गे पुल, खानेपानी, सञ्चार, विद्युत् सुविधा विस्तार र पदमार्ग स्तरोन्नतिका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए ।

समुन्द्री सतहदेखि चार हजार एक सय ५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा छोटो दुरीमा सहजै पदयात्रामा पुगिने भएकाले पर्यटकको रोजाइमा परेको छ । असोज र कात्तिक महिनामा करिब १५ हजार जनाले आधार शिविरको भ्रमण गरेका अन्नपूर्ण गाउँपालिका–४ का वडा अध्यक्ष लोकबहादुर पुनले बताए ।

नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ । दुई दिनको पैदल यात्रामा पुगिने अन्नपूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य भएको शेर्पा अल्पाइन ट्रेकिङका पथप्रदर्शक लाक्पा आङवु शेर्पाले बताए ।

अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बग्ने मिस्त्री खोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । 

नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले वि।स। २०७७ मा नक्साङ्कन र ‘मौरिस हर्जोग’ नामकरण गरेको थियो । 

सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस र लुइस लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो । आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । 

विसं २०७७ मा भएको अन्नपूर्ण महोत्सव र गत जेठमा अन्नपूर्ण आरोहणको हीरक जयन्तीले पदमार्ग, हिमाल र आधार शिविरको प्रचार गर्न सहयोग पुगेको छ । पदमार्गको प्रवेश बिन्दुमा पर्ने नारच्याङमा सन् २०१२ आएका हर्जोगले आरोहणका समयमा प्रयोग गरेको बाटो र आधार शिविरको बारेमा जानकारी गराएपछि स्थानीयवासीहरुको टोलीले पदमार्गको खोज अनुसन्धान गरेको अगुवा गुरुङले बताए । रासस

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update