Khabar Out
हात्तीको बथान झापा प्रवेश गरेपछि सवाधान रहन आग्रह

झापा । पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सवाधान रहन डिभिजन वन कार्यालय झापाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

गस्ती र माइकिङ गरेर सर्वसाधारणलाई सचेत बनाउनुका साथै सावधानी अपनाउन आग्रह गरिएको कार्यालयले जनाएको छ । मोरङबाट २५ देखि ३० को सङ्ख्यामा हुल बाँधेर बच्चासहित हात्तीको बथान झापा प्रवेश गरेकाले स्थानीयलाई जानकारी दिँदै सचेतना अपनाउन माइकिङ गरिएको कार्यालय प्रमुख भरतबाबु श्रेष्ठले बताए ।

प्रमुख श्रेष्ठका अनुसार डेढ वर्षअघि बाहुनडाँगीको प्रसाद गौँडा हुँदै ५०–६० हात्तीको बथान नेपाल प्रवेश गरेको थियो । सोमध्ये करिब एक वर्षअघि ३० वटा हात्ती भारततर्फ फर्किएको र बाँकी मोरङ र सुनसरीका वन क्षेत्रमा रहेका थिए । तिनै हात्ती भारततर्फ फर्कने क्रममा झापा आइपुगेकाले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको उनले बताए ।

हात्तीको बथान आज शिवसताक्षीधामस्थित रतुवामाई वृक्षारोपण वन क्षेत्रमा रहेका वन कार्यालयका प्रमुख श्रेष्ठले बताए । 'जनधनको क्षति नहोस् भन्ने उद्देश्यले हात्ती रहेका पालिकामा रात्रिकालीन गस्ती र माइकिङ गरिरहेका छौँ,' उनले भने, 'हात्ती कुन क्षेत्रतर्फ गइरहेका छन् भनेर वन कार्यालयले रेखाङ्कन गर्दै सोही क्षेत्रमा गस्ती गरिरहेको छ ।'

हात्ती दिनभर सामुदायिक वन क्षेत्रमा बस्ने र राति मात्र हिँड्ने गरेका छन् । आज र भोलिसम्ममा बाहुनडाँगीको प्रसाद गौँडा हुँदै उक्त बथान भारततर्फ फर्कने आँकलन गरिएको उनले बताए । रासस

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  २१:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update