Khabar Out
पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी सुरु

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर क्षेत्रमा बालाचतुर्दशी पर्वको तयारी सुरु गरिएको छ । बाला चतुर्दशीका निम्ति बत्ती, पाल, शतबीज मार्ग व्यवस्थापनलगायत तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

तयारीका निम्ति सरोकारवाला निकायसँग बैठक गरी कामको बाँडफाँट गरिएको छ । दिवंगत पितृको सम्झनामा आफन्तजनबाट मंसिर २ गते मंगलबार रातभर दीप प्रज्वलन गरी भोलिपल्ट बुधबारका दिन शतबीजारोपणलाई व्यवस्थित रूपमा गर्न तयारी सुरु गरिएको हो ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृको स्मरणमा बत्ती बाली चतुर्दशीका दिन बिहान शतबीज छर्ने परम्परा छ । मन्दिर प्रांगणका चारै ढोका र पश्चिम मूलढोकासहित बाहिरी परिसरको प्रवेशद्वारमा दीप प्रज्वलन गरी राख्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

बत्ती बाल्न र रातभर जाग्रामका निम्ति पालभित्र र उपलब्ध हुन सक्ने अरू स्थान समेत कोषका तर्पmबाट निःशुल्क उपलब्ध गराइने भएको छ । कसैले पनि शुल्क उठाउन नपाउने गरी कडा निर्देशन दिइएको निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए ।

मन्दिर प्रांगण, मुख्य  क्षेत्रभित्र र ढुंगा छापेको, पिच गरेको स्थानमा शतबीज नछर्न र सकेसम्म उम्रने खाली ठाउँमा मात्र छर्न भक्तजनलाई अनुरोध गरिएको उनले बताए ।

यस अवसरमा मादक एवम् नशालु पदार्थ बिक्री वितरण तथा उपभोग गर्न निषेध गरिएको छ । यसको अनुगमनका निम्ति कडा व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

भक्तजनलाई महँगा र भड्किला गरगहना एवम् छालाका जुत्ता–चप्पल नलगाउन पनि आग्रह गरिएको छ ।

कोषका अनुसार, खोजखबर कक्षको सञ्चालन, सञ्चारको प्रभावकारिताका निम्ति नेपाल टेलिकम र एनसेलबाट विशेष व्यवस्था मिलाइएको छ । प्रहरी शिविरसँगै एम्बुलेन्ससहितको स्वास्थ्य शिविर राखी प्राथमिक उपचारको व्यवस्था मिलाइने भएको छ ।

खानेपानी तथा नुहाउने व्यवस्था गर्न कोषले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरी आवश्यक व्यवस्था मिलाइने भएको छ । 

कैलाशडाँडा, उमाकुण्ड, गौरीघाट, किराँतेश्वर, वनकाली, आर्यघाट, मृगस्थली, विश्वरूपलगायत जंगलमा पर्ने शतबीज मार्ग एवम् नमोबुद्धमा समेत पर्याप्त बत्तीको व्यवस्था गरिएको र त्यसनिम्ति नेपाल विद्युत् प्राधिकरणको सहयोग लिई लोडसेडिङ नहुने गरी व्यवस्था मिलाइने निमित्त सदस्यसचिव जोशीले बताए । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update