Khabar Out
बसले अटो रिक्सालाई ठक्कर दिँदा एकापरिवारका तीनसहित चारजनाको मृत्यु

धनुषा । यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकापरिवारका तीन सदस्यसहित चारजनाको मृत्यु भएको छ । दुई बालबालिका गम्भीर घाइते भएका छन् ।

विराटनगरबाट धनगढीतर्फ गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटो रिक्सालाई शनिबार (कात्तिक १५) साँझ ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार, पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्रबजारमा उक्त दुर्घटना भएको हो । दुर्घटनामा गणेशमान चारनाथ नगरपालिकाको भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछानेमगर, ३५ वर्षीय शम्भु पुर्वछानेमगर, ३५ वर्षीया निशा मगर र करिब ४० वर्षीय अटो चालक डम्बर राईको मृत्यु भएको उनले जानकारी दिए । घटनास्थलमै उनीहरूको मृत्यु भएको उनले बताए ।

प्रहरी निरीक्षक केसीका अनुसार, दुर्घटनामा १४ वर्षीया शीतल मगर र नौ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका निम्ति जनकपुरधामस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले दुर्घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ । रासस
 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update