नवलपुर । तिहारमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा भएका विभिन्न दुर्घटनामा परी ४ जनाले ज्यान गुमाएका छन् । कात्तिक १ गतेदेखि कात्तिक ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा २६ वटा सवारी दुर्घटना भएका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार जिल्लामा भएका सवारी साधन दुर्घटनामा परी ४८ जना घाइते भएका छन् । दुर्घटनामा संलग्न सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेका नेपालले बताए ।
दुर्घटनामा २६ वटा मोटरसाइकल, आठ वटा स्कुटरसहित तेलको ट्याङ्कर तथा अटो रिक्सालगायत छ वटा सवारीसाधन संलग्न रहेका नेपालको भनाइ छ । जिल्लामा भित्री सडक खण्डमा सबैभन्दा बढी दुर्घटना भएका उनले जानकारी दिए ।
जिल्लामा भएका दुर्घटनाका कारण तीव्र गति, सडकको अवस्था तथा चालकको लापरबाही रहेको उनले उल्लेख गरे । ट्राफिक नियम पालना नगरी सवारीसाधन चलाउँदा हुने दुर्घटनाबाट धेरै क्षति हुने गरेको नेपालले बताए । रासस


