मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकाअन्तर्गत मार्फा–छैरो–चिमाङ सडक स्तरोन्नति गरिने भएको छ। गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले यस सडकका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड विनियोजन गरेको छ।
पूर्वाधार विकास कार्यालयका प्रमुख अजयकुमार श्रेष्ठका अनुसार बेनी–जोमसोम सडकमार्गको मार्फाबाट कालीगण्डकी पारि रहेका छैरो–चिमाङ गाउँ जोड्ने यो सडकलाई थप स्तरोन्नतिसहित आवश्यक स्थानमा कालोपत्र गर्ने गरी बहुवर्षीय योजनाको सम्भावित सूचीमा राखिएको छ ।
मार्फा–छैरो पुलदेखि चिमाङसम्मको कच्ची सडकलाई बहुवर्षीय योजनाका रूपमा कार्यान्वयन गर्ने सम्भावना भएकाले तत्कालका लागि छैरो–चिमाङ सडक स्तरोन्नतिको काम नगरिएको श्रेष्ठले बताए । बहुवर्षीय कार्यक्रमका रूपमा निर्देशन प्राप्त भएमा सोहीअनुसार प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए ।
बहुवर्षीय कार्यक्रम स्वीकृत भएमा चालु आवमा विनियोजित रकमको पाँच गुणासम्मको लागत अनुमान तयार गरी स्रोत सुनिश्चित हुने कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ। बहुवर्षीय कार्यक्रम स्वीकृत हुँदा करिब चार किलोमिटर लामो मार्फा–छैरो–चिमाङ सडकको केही खण्ड कालोपत्र र अन्यमा स्तरोन्नति हुनेछ। बहुवर्षीय कार्यक्रम स्वीकृत भए चालु आवमै ठेक्का सम्झौता र सडक स्तरोन्नतिको काम सुरु हुनेछ ।
कालीगण्डकी नदीपारि रहेको कृषि गाउँ चिमाङसम्म जोडिने यो सडक जीर्ण र असहज हुँदा स्थानीयलाई आवतजावत तथा मालसामान ढुवानीमा जोखिम छ। छैरोबाट चोखोपानी खोलासम्मको सिधा कच्ची सडक र चोखोपानीबाट चिमाङसम्मको ठाडो उकालो सडक जीर्ण हुँदा यातायातका साधनको सहज पहुँच पुग्न सकेको छैन ।
स्थानीय इन्द्रप्रसाद थकालीले छैरो–चिमाङ सडकको स्तरोन्नति तथा कालोपत्र गर्न सकेमा त्यस क्षेत्रको कृषि उपजको सहज बजारीकरण र पर्यटन विकासमा सहयोग पुग्ने बताए । मार्फा–छैरो जोड्ने पुल बनिसकेकाले चिमाङसम्मको सडक स्तरोन्नति तत्कालको आवश्यकता भएको उनको भनाइ छ । रासस


