Khabar Out
बजेट अभावले पुल निर्माणमा ढिलाइ

कैलाली । कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा निर्माणाधीन पक्की पुलका लागि बजेटको अभाव देखिएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई जोड्ने एउटा महत्वपूर्ण मानिएको कर्णाली सनकट्टी पुलको लागि प्रयाप्त बजेट विनियोजन नहुँदा निर्माणमा ढिलाइ भएको हो ।

एक अर्ब १८ करोड (भ्याटसहित) ठेक्का सम्झौता भएको पुलको लागि चालु आर्थिक वर्षमा रु १० करोड बजेट विनियोजन भएको छ । निर्माण कम्पनीले ४५ करोड बजेटको सुनिश्चितता सरकारले गर्न सकेको खण्डमा अर्को वर्षको दसैँसम्म पुल सञ्चालनमा ल्याउन सकिने बताएका छ ।

चालु अर्थिक वर्षमा निर्माण कम्पनीले सरकारले विनियोजन गरेको बजेट भन्दा थप रु ३५ करोड बढी बजेट माग गरेको छ । पुल निर्माणको जिम्मा पाएको रसुवा कन्स्ट्रक्सनका प्रबन्धक कृष्ण ढुङ्गेलले बजेटको सुनिश्चितता नभएकै कारण निर्माणको काम सुस्त भएको बताए । उनले बर्सेनि आउने बजेट माग अनुसार नआएका कारण काम प्रभावित हुँदै आएको बताए ।

‘यसवर्ष हामीलाई रु ४५ करोड बजेट भएको भए पुल निर्माण गरेर सञ्चालनमा ल्याउन सकिन्थ्यो ।’ उनले भने-  ‘बजेट १० करोड मात्रै विनियोजन भएको छ । त्यहीँ बजेट अनुसारको काम गर्दा अर्को वर्ष पनि काम सम्पन्न हुँदैन होला ।’

प्रबन्धक ढुङ्गेलका अनुसार हालसम्म ६७ प्रतिशत काम सम्पन्न भइसकेको छ । चौध पिल्लरमा १३  पिल्लर निर्माण भइसकेका छन् । बर्दिया क्षेत्रबाट चार पिल्लरको स्ल्याप ढलान भइसकेको छ । ‘अहिलेको आन्दोलनको प्रभाव नपरेपछि एक महिनामा तीनवटा स्ल्यापको काम सम्पन्न गर्ने योजना छ । त्यसैअनुसार जनशक्ति व्यवस्थापन गरिसकेका छौँ’ ढुङ्गेल भन्छन्, ‘बजेटको सुनिश्चितता भए काम गर्नका लागि उपकरण र जनशक्तिको अभाव छैन ।’ 

विसं २०८३ माघसम्म निर्माण सम्पन्न गर्ने आयोजनाको म्याद रहेको छ । आवश्यक बजेटको सुनिश्चितता भएको खण्डमा समयावधि भन्दा अगाडि नै पुल निर्माण सम्पन्न गर्ने योजनामा निर्माण कम्पनी देखिन्छ । कर्णाली नदीको बहावका कारण वर्षमा सात महिना मात्रै काम गर्न सकिन्छ । अन्य पाँच महिना निर्माणको काम ठप्प हुने गरेको छ । अहिले पनि पुल निर्माणको काम अगाडि बढ्न सकेको छैन । 

छठपछि पुलको बाँकी काम सुरु गर्ने तयारीमा निर्माण कम्पनी लागेको छ । ‘पुल निर्माणका क्रममा स्थानीयको साथ सहयोग निकै पाएका छौँ’ कृष्ण भन्छन्- ‘नागरिकहरूमा उत्साह छ । उहाँहरु छिटो पुल बनोस् भन्ने चाहनुहुन्छ । तर, सरकारबाट प्रयाप्त बजेट नआउँदा समस्या भएको छ ।’

पुल निर्माण भएपछि व्यापारिक हिसाबले टीकापुरलाई फाइदा हुने विश्वास गरिएको छ । गेरुवा गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र टीकापुर बन्नसक्ने विश्वास व्यापारीको छ । वर्षौदेखि टीकापुर उद्योग वाणिज्य सङ्घले सो क्षेत्रमा पुल निर्माणको लागि पहल गर्दै आएको थियो ।

‘पुल निर्माणका लागि उद्योग वाणिज्य सङ्घमार्फत हामीले निकै प्रयास गरेका थियौँ’ टीकापुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष रामबहादुर भण्डारीले भने- ‘पुल बनेपछि टीकापुरको व्यवसायले उचाई लिने विश्वास गर्दै आएका छौँ ।’

वर्षौंदेखि डुङ्गामा जोखिमको यात्रा गर्नुपर्ने बाध्यता हट्ने स्थानीयको विश्वास छ । पुल नभएका कारण कर्णालीमा वर्षौंदेखि डुङ्गा सञ्चालनमा छ । पुल निर्माण भएपछि जोखिम मोलेर डुङ्गामा सवार गर्नुपर्ने बाध्यता हट्ने स्थानीय राजेन्द्र विश्वकर्मा बताउँछन् ।

‘गेरुवा शान्तिबजार जान सन्कट्टी हुँदै जाँदा छिटो हुने भएकाले कर्णालीको जोखिम मोलेर डुङ्गाको सवार गर्नुपर्ने बाध्यता छ’ उनी भन्छन्, ‘अबको त्यो बाध्यता हट्ने आशा जागेको छ । पुल निर्माण भएपछि बर्दिया र टीकापुरको दुरीलाई कम गर्ने विश्वास छ ।’

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update