
सिरहा । सिराहा प्रहरीले गत आर्थिक वर्ष २०८१/८२ मा जिल्ला भरबाट लागु औषधसम्बन्धी १०९ वटा मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयसहित मातहतका प्रहरी युनिटद्वारा सञ्चालन गरिएको अभियानमा विभिन्न प्रकारका लागु औषधसहित नेपाली तथा भारतीय गरी १८० जनालाई पक्राउ गरिएको प्रहरीको वार्षिक तथ्याङ्कले देखाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये १६८ पुरुष र पाँच जना महिला नेपाली रहेका छन् भने छ जना पुरुष र एक महिला भारतीय नागरिक रहेको प्रहरीले बताएको छ । तीमध्ये १०७ वटा मुद्दा फर्छ्योट भइसकेका छन् भने दुई वटा मुद्दा अझै बाँकी रहेका छन् ।
यस अवधिमा प्रहरीले जम्मा एक हजार ३९ किलो ६०४ ग्राम गाँजा र एक किलो ५३५ ग्राम खैरो हिरोइन बरामद गरेको छ । यस्तै, गोप्य सूचनाका आधारमा गरिएको जाँच तथा निगरानीका क्रममा डाइजेपाम, फेनार्गन, बुप्रोनर्फिन, लुपिजेसिक, नाइट्राजेपाम, स्पास प्रो, कोडिनलगायत सिन्थेटिक लागु औषधसमेत बरामद गरी सम्बन्धित विरुद्ध मुद्दा दायर गरिएको छ ।
प्रहरीले लागु औषध नियन्त्रणलाई प्राथमिकतामा राखी निरन्तर निगरानी तथा कारबाही अभियान चलाइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पारवानले जानकारी दिए। रासस